चितवन कार्तिक ३० : घरेलु मैदानमा जारी तीन खेलको एकदिवसीय सिरिजमा नेपालले आज यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्नै पर्ने दबाबमा हुनेछ।
सोमबार भएको पहिलो खेलमा नेपाल युएइसँग ८४ रनले पराजित भएपछि सिरिज जोगाउनका लागि पनि बुधबारको खेल जित्नु पर्ने दबाब नेपाललाई रहेको छ। नेपाल पराजित भएको खण्डमा युएईल् एक खेल अगावै सिरिज जित्ने छ।
यूएई भने पहिलो खेलमा निकालेको जितले उत्साहि छ। लगातार दोस्रो जित निकाल्दै आफ्नो दबदबा कायम राख्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदानमा उत्रिने छ। युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।
नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले २ पटक जित निकाल्दा युएईले भने ५ पटक खेल आफ्नो पक्षमा पारेको छ।
नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो। तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो।

