नेकपा एमालेका नेता भीम रावलले एमालेले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिएका छन्। उनले आफूसँग अझै सहने क्षमता रहेकाे बताउँदै अति गरे साेच्नुपर्ने अवस्था आउने उल्लेख गरे।
मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयाोजना गरी नेता रावलले आफूले ५० वर्ष पार्टीमा लगानी गरेकाले कसैले भन्ने बित्तिकै पार्टी नछाड्ने जिकिर गरे।
उनले साेमबार अछामकाे साँफेबगरमा एमाले उपाध्यक्ष विष्णु पाैडेल सहभागी कार्यक्रम बिथाेलिएकाे घटनामा आफ्ना समर्थककाे बचाउ गर्दै अछाममा कार्यकर्ताले कार्यक्रम बिथोल्नु शीर्ष नेताहरूकै गल्ती रहेको बताए।
‘मेरो जिल्लामा मेरै क्षेत्रमा कार्यक्रम भयो। पार्टीका सिद्धान्त, विचारलगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो। कुनै पनि विवाद नगर्ने सहमति भएको रहेछ। पार्टीलाई बलियो बनाउने, कसरी अघि जाने भन्ने कुरा थियो। तर त्यो कार्यक्रममा एक जना व्यक्तिले मेराे नै विराेध गरे’, नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘त्यहाँ सहभागी कार्यकर्ताले विरोध गरेका हुन्। सहभागी ८० प्रतिशतभन्दा बढीले कार्यक्रमको विरोध गर्नु स्वाभाविक हो।’
पार्टी उपाध्यक्ष पौडेल, पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूको सहभागितामा सोमबार अछाममा आयोजित कार्यक्रममा नेता रावलप्रति आक्षेप लागेपछि कार्यकर्ताहरूले कार्यक्रम बिथोलेका थिए।
उनले शीर्ष नेताहरूले नै पार्टीलाई मजबुत, एकताबद्ध बनाउन लागेका व्यक्तिहरूमाथि आक्षेप तथा भ्रम फैलाउन कार्यको कार्यकर्ताले विरोध गरेको बताए।

