काठमाडौं । ‘मेक इन नेपाल’, ‘मेड इन नेपाल’ को अभिलाषा राख्दै आएको राज्यले सही नीति नबनाइदिँदा व्यवसायी पलायनको बाटोमा अघि बढेका छन् । नेपालमा नै केही गर्ने आकांक्षाका साथ उद्योग स्थापना गरेर विद्युतीय मोटरसाइकलको उत्पादन थालेका युवाहरु राज्यको गलत नीतिका कारण पलायनको बाटोमा अघि बढेका हुन् ।
नेपालको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’ ले दर्ताको प्रमाणपत्र (नम्बर प्लेट) पाउन सकेन । जसको फलस्वरुप यात्रीका विकासकर्ता टिमनै नमिठो अनुभव बोकेर विदेश पलायन हुन लागेका हुन् ।
‘यात्री’ मोटरसाइकलका उत्पादक एवम् मुख्य विकासकर्ता अशिम पाण्डे, बत्सल पाण्डेसहितको टोली यतिखर नेपालमा मोटरसाइकलको उत्पादन हुन नसक्ने निष्कर्षका साथ चीन हानिएका छन् ।
कम्पनीका सल्लाहकार एवं निर्माण व्यवसायी निकोलश पाण्डेले यात्रीको टिम अवसरको खोजीमा चीन पुगेको जानकारी दिए ।
‘नेपालमा केही गर्छु भन्नेलाई अवसर नै छैन । यहाँको कानुन, कर्मचारीतन्त्र पुरै सिस्टम नै खराब छ । देशभित्र नै केही गर्छु भन्दा कतैबाट सहयोग मिल्दैन । यही नियति भोग्दै यात्री मोटरसाइकलका निर्माता भाइहरु विदेश पलायन हुन बाध्य भएका छन्,’ पाण्डेले भने ।
विदेशबाट अध्ययन गरेर आएका युवाहरुलाई ऐन नियमको परिबन्धले रिंगाएको तर्क गर्दै पाण्डेले भने, ‘यो सबै सहन नसकेर युवाहरु विदेशिएका हुन् ।’
‘विदेशमा पढेर आए, उनीहरुलाई देशको सिस्टको बारेमा त्यति थाहा नै छैन । यहाँको लेन्दी प्रणालीले उनीहरुलाई हैरान नै बनायो । अन्ततः निराश भएर चीन हानिए,’ उनले भने, ‘अब यात्री टिमले चीनमा नै रहेर युरोपेली मुलुकका लागि विद्युतीय मोटरसाइकलको काम गर्नेछन् ।’
तथापि, यात्री टिमले नेपालको उत्पादन पूर्णतः बन्द भने गरिसकेको छैन । ‘मुलुकको कानुन, व्यवस्था सुध्रिए अवश्य नेपाल फर्किएर पुनः उत्पादन थाल्ने युवाहरुको चाहना छ,’ पाण्डेले भने ।
यस विषयमा असिमलगायत मुख्य लगानीकर्तासँग थप कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । देश बाहिर रहेकाले फोनमा कुरा गर्न सम्भव भएन । भाइबर, वाट्सएपमा सम्पर्क गर्न खोज्दा समेत उनीहरु बोल्न चाहेनन् ।
स्रोत : रातोपाटि