काठमाडाैं बैशाख १० :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा क्षमा माग्ने सहमति भएपछि चितवनको भोजाडस्थित नयाँ किरण मावि केन्द्रमा मतदान सुचारु भएको छ ।
आयोगबाट खटिएका कर्मचारीहरूको रोहबरमा दलका प्रतिनिधिहरूबीच भएको बैठकमा मतदान सुचारु गर्ने सहमति जुटेको हो ।
सहमतिको पहिलो बुँदामा रास्वपाबाट आचारसंहिता उल्लंघन भएको भन्दै उक्त दलका तर्फबाट क्षमायाचना गर्ने उल्लेख छ ।
साथै मतदानस्थलको ३०० मिटर वरपर शान्ति सुरक्षा सुदृढ बनाउने, आचारसंहिता उलंघनबारे मुख्यनिर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ ।
रास्वपा उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा उनका समर्थकहरूले नाराबाजी र हुटिङ गरेका थिए ।
निर्वाचनको समयमा नाराबाजी, चुनाव चिह्न प्रचार आदि गर्न पाइँदैन । त्यसक्रममा धकेलाधकेलको स्थिति समेत उत्पन्न भएको थियो ।