तनहुँ १ मा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन्। यो कुल सदर मतको आधाभन्दा धेरै हो ।
उनले सत्ता गठबन्धनका तर्फबाट उठेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारे ।
कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनाल धेरै पछाडि रहे । उनले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त गरे । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनहुँ १ मा आइतबारको उपनिर्वाचनमा झण्डै ६५ हजार मत मत खसेको थियो। रास्वपाका वाग्लेले सदर मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।
वाग्ले कांग्रेस परित्याग गरि रास्वपा प्रवेश गरेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । उनी ४ मंसिरको चुनावमै उठ्न चाहेका थिए । तर, त्यतिबेला उनलाई टिकट दिइएन् । बरु राष्टिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गर्न लगाएर डा विश्व पौडेललाई चितवन १ मा उम्मेदवार बनाइयो । डा वाग्लेलाई कांग्रेसको घोषणापत्र मस्यौंदा समितिमा रहेर काम गरेका थिए । उपनिर्वाचनमा पनि टिकट नदिएपछि उनी पाँच वर्ष कुर्न नसक्नेभन्दै कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए ।