तनहुँ-१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रममा मंगलबार बिहान बोल्दै उनले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताए । संसदमा राष्ट्रिय मुद्दामा सक्रिय हुने उनको भनाइ छ । ‘संसदमा मैले गर्ने प्रस्तुति, तयारी र पछि कार्यकारी भूमिका निभाउन सकेँ भने तनहुँलाई हेर्छु नै सम्पूर्ण राष्ट्रको जिम्मेवारी म बोक्छु । अन्तर्राष्ट्रिय मञ्चमा पनि विस्तार हुनेछु,’ स्वर्णिमले भने ।
उनले चुनावमा भनेजस्तै आफू तनहुँले गर्व गर्न लायक सांसद बन्ने दोहोर्याए । ‘मैले चुनावीसभामा पनि भनेको थिएँ- तनहुँले गर्व गर्न लायक सांसद बन्ने लक्ष्य छ । लक्ष्य परिपूर्ति गर्न मिहिनेत गर्नेछु,’ उनले भने, ‘केही कमजोरी भए बताइदिनुहोला, म सच्चिएर जाने छु ।’
गोविन्द भट्टराईसँग चुनाव लड्नुपरेकोमा आफूलाई केही दुःख लागेको स्वर्णिमले सुनाए । तर, चुनावी नतिजा जे भए पनि सबै दलसँग मिलेर काम गर्ने उनले बताए । ‘गोविन्द भट्टराईलाई हराउन म आएको थिइनँ । देशका मुद्दा र विचारका कुरा थिए । गोविन्द भट्टराईजस्तो सादगी, त्याग गरेको, विद्यार्थी राजनीति गरेर खारिएर आउनुभएकोसँग लड्नुपर्यो,’ स्वर्णिमले भने, ‘यो व्यक्तिभन्दा माथिको कुरा भयो । उहाँले तनहुँमा भिजेर गर्नुभएको कामबारे राम्रो जानकारी छ । सबैको विश्वास लिएर, सहकार्य गरेर अघि बढ्छु ।’
आइतबार भएको निर्वाचनमा तनहुँ १ बाट स्वर्णिम ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उठेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारे ।
कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मतमात्र प्राप्त गरे । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनहुँ १ मा उपनिर्वाचनमा झण्डै ६५ हजार मत मत खसेको थियो । रास्वपाका वाग्लेले सदर मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरे ।
वाग्ले मनोनयन दर्ताभन्दा दुई दिनअघि कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए ।