प्रवीण मुनाल / ओखलढुंगा
ओखलढुंगा सदरमुकामदेखि निशंखे भञ्ज्याङसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीयले ठेकेदार विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
सडक चौडाई र ग्राभेलको काम अलपत्र पारेको भन्दै स्थानीयले ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध कारबाहीको माग गर्दै स्थानिय आन्दोलित भएका हुन् । आन्दोलित स्थानीयले ठेकेदार तामाङको तस्विरमा गोबर दलेर विरोध गरेका थिए ।
स्थानिय आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा करिब दुई घण्टा सडक अवरुद्ध पारेका थिए ।
कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने गरि २०७६ पुस ९ गते ठेक्का लिएको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको निशंखे सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताउनु भएको छ ।
वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक हुँदा यात्रु साथै सडक आसपासका स्थानियलाई असर परेको गुरुङको भनाई छ । कान्छाराम कन्ट्रक्सन प्रा.लीले १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लिएको थियो ।
यो सांकेतिक रुपमा आन्दोलनको सुरुवात गरिएकोले स्थानियको माग सम्बोधन नभएका ठेकेदार कम्पनीले काम सुरु नगरे विरोध प्रदर्शनलाई थप सशक्त बनाउने स्थानियले बताएका छन् । जेठ १ गते देखी अनिश्चित सडक अवरुद्धको गरिने संघर्ष समितिले जनाएको छ ।
ठेकेदार कान्छाराम रामेछापका काँग्रेस जिल्ला सभापति तथा संघिय प्रतिनिधिसभाका सांसद हुन् । उनको फर्ममार्फत स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले काम गरेका थिए । काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत नपाएको गुनासो छ ।
ठेकेदारले सडक निर्माणको काम अलपत्र पार्दा उक्त सडक खण्डमा यात्रा गर्ने नागरिकलाई जोखिम बढेको छ । जथाभाबी डोजर चलाउदा, ढुंगा माटो थुपारेर अलपत्र छोड्दा सडक जोखिम पुर्ण भएको हो ।
स्थानियले प्रदर्शनकारीले ओखलढुंगाका संघिय सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदीप कुमार सुनुवार विरुद्ध पनि नाराबाजी गरेका थिए ।
नागरिकको समस्यामा जनप्रतिनिधीले चासो नदिएको भन्दै विरोधमा उत्रिएका हुन् । संघिय सांसद खतिवडाले सामाजिक संजाल मार्फत स्थानीयको आन्दोलनमा आफ्नो समर्थन रहेको प्रतिक्रिया दिनु भएको छ ।

