चितवन, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति वैज्ञानिक महाविर पुनले असन्तुष्टि जनाएका छन् । आफ्नो माग बमोजिम अनुसन्धान तथा नवप्रवर्तनमा बजेट नछुट्याएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
कुल पुंजीगत बजेटको १ प्रतिशत बजेट अनुसन्धान तथा नवप्रवर्तनमा छुट्याउनुपर्ने भन्दै पुन धर्नामा बसेका थिए । सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पुनले आन्दोलन स्थगित गरेका थिए ।
अर्थमन्त्री डा प्रकाश शरण महतले सोमबार बजेट प्रस्तुत गर्दै अनुसन्धान तथा नवप्रवर्तनमा एक अर्ब रुपैयाँ छुट्याएको बताए । उनले पुंजीगत बजेटको लागि ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
पुंजीगत बजेटको एक प्रतिशत बजेट ३ अर्ब २ करोड ७० लाख रुपैयाँ हुन आउने भन्दै वैज्ञानिक पुनले सरकारले ढाँटेको बताए । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यसरी हाकाहाकी ढाँट्ने काम नगरौँ । सरकार धेरै बाठो नभए हुन्छ । हामी पनि लाटो छैनौँ । ठूलो मूल्य चुकाउनु पर्ला । हिसाब सच्याउँ ।’

