देवचुली । अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आएको ‘कोपिला नेपाल’ले नवलपुर जिल्लाका विभिन्न सरकारी संघसंस्थाका प्रतिनिधिहरूसँग अन्तक्र्रिया गरेको छ। मंगलबार देवचुलीमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, स्वास्थ्य कार्याालयका प्रमुख, शिक्षा समन्वय इकाइ तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकलगायतका प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिका हकअधिकार, सेवा–सुविधा तथा पहुँचबाट बञ्चित भएको गुनासो गरेका थिए। शारीरिकरूपमै अशक्त व्यक्तिलाई घरपरिवारबाटै विभेद हुन नरोकिएको भन्दै त्यस विषयमा परिवारलाई नै बढी सचेत गराउनुपर्ने आवाज उठाएका थिए। आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कोपिला नेपालका संस्थापक प्रकाश वाग्लेले भने, ‘हामीले वर्षौँ पहिलेदेखि प्रयास गर्दै आए पनि अपाङ्गता भएका व्यक्तिमाथि हुने विभेदको अन्त्य गराउन सकेका छैनौँ।’
शिक्षा, स्वास्थ्य, रोजगार जुनसुकै क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिको पहुँच अझै पुर्याउन नसकिएको उनले बताए। ‘यसलाई सरकारी क्षेत्रबाटै लागू नगरेसम्म हामीले मात्रै प्रयास गरेर नहुँदो रहेछ,’ उनले भने, ‘हुन त हामीले प्रयास गर्दा केही विषयमा सकारात्मक प्रभाव परेको छ। तर, हुनुपर्ने जति उपलब्धी हुन सकेको छैन। तर, शिक्षा, स्वास्थ्य तथा रोजगारजस्ता क्षेत्रमा सरकारले नै सहभागी गराउनुपर्छ।’
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नेपालको स्वास्थ्य नीति सबै वर्गको लागि भए पनि त्यसलाई पूर्ण कार्यान्वयन गराउन नसकेको बताए। ‘त्यसबाट सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्ति नै प्रभावित भएका छन्,’ उनले भने, ‘कोपिला नेपालले गरेको प्रयासले राज्यलाई खबरदारी गर्न बल मिलेको छ।’
शिक्षा समन्वय इकाइ नवलपुरका लेखाजोखा संयोजक कमला ठाडाले विद्यालय क्षेत्रमा नै अपाङ्गता भएका बालबालिकाको हकअधिकारबाट बञ्चित भएको बताइन्। ‘विद्यालयजस्तो संवेदनशील क्षेत्रमा पनि विभेद भएको देखिन्छ,’ उनले भनिन्, ‘अपाङ्गता भएका बालबालिकाको हकअधिकार प्राप्ति र पहुँचको लागि शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नै अपाङ्ग हुनुपर्ने हो र?’
राष्ट्रिय अपाङ्ग महासंघका सदस्य नीलकण्ठ तिमिल्सिनाले अपाङ्गताको क्षेत्रमा चासो दिने कोही नहुँदा विभेदको खाडल पुर्न नसकेको बताए। उनले स्थानीय सरकारबाटै अपाङ्गता भएका व्यक्तिका लागि नीति निर्माण गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए।
गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले कोपिला नेपाल जस्तो सामाजिक संस्थालाई राज्यका निकायले संरक्षण गर्नुपर्ने बताइन्। ‘आगामी दिनमा कोपिला नेपाल जस्तो जनस्तरमा काम गर्ने संस्थालाई हामीले सहयोग गर्नैपर्छ,’ उनले भनिन्, ‘कोपिला नेपालकै कारण हामीले गर्नुपर्ने कतिपय काम गैरसरकारी संस्थाबाट पूरा भइरहेका छन्।’
कोपिला नेपालका संस्थापक अध्यक्ष तीर्थ थापाले नवलपुुर जिल्लाका सरकारी निकायहरूमा अपाङ्गता भएका व्यक्तिका लागि कसरी काम भएको छ भन्ने विषय बुझ्नको लागि पनि अन्तरक्रिया आयोजना गरिएको बताए। करिब दुई दशकअघिदेखि सञ्चालित कोपिला नेपालले गण्डकी प्रदेशका सबै जिल्लामा काम गर्दै आएको छ। सोहीअन्तर्गत विगत चार वर्षदेखि नवलपुर जिल्लामा पनि काम गर्दै आएको छ।