नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन्।
प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सह्य नहुने बताए।
उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीका नेता, कार्यकर्तालाई आह्वानसमेत गरे।
उनले भने, ‘केही दिनबीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु गर्यो। एउटा निर्णय आममाफीको विषयमा, एउटा निर्णय नागरिकताको विषयमा। एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा।
एउटा निर्णय सरकारले गर्यो भर्खर सांसद विकास कोषको सन्दर्भमा। यस्ता कैयन विषयहरु छन्, जुन विषयहरु मैले लङ लिस्ट भन्नसक्छु। यी सबै विषयहरुका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरु हो।’
महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि बताए। कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैलाई बदल्न चाहेको उनको भनाइ थियो।
उनले थपे, ‘मैले यसलाई सहँदै आएँ। मैले यसलाई मान्दै आएँ। किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ। सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो। मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो। मैले मान्दिनँ भन्ने कुरा बदल्ने हो। जुन कुराले पार्टीको हित गरिरहेको छैन।
पार्टीको अहिले गरिरहेको कुरा, पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी गरिएका जुन निर्णयहरु छन्, ती निर्णयहरुको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यहरुले बोक्नुपर्ने जुन स्थिति बनेको छ, यो गर्नेक्रमलाई रोक्ने हो। यो गर्नेक्रमलाई अब लडेर रोक्ने हो। जुधेर रोक्ने हो। संघर्ष गरेर रोक्ने हो।’