चितवन, जेठ २४ : चितवन जिल्लामा गर्मि ह्वात्तै बढेको छ । जिल्लामा जेठ १३ पछि पानी परेको छैन ।
मंगलबारसम्म चितवनको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेकोमा आज बढेर ४१ डिग्री पुगेको छ । भरतपुर विमानस्थलले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार ४१ डिग्री यो वर्षकै सबैभन्दा बढी तापक्रम हो । विमानस्थलले आज दिउँसो १ः३० बजेको अवधिमा अधिकतम तापक्रम ४१ डिग्री पुगेको जनाएको छ । मौसम पूर्वानुमान विभागले चितवनमा पानी पर्न अझै केही दिन लाग्ने बताउँदै आएकोले अझै तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा गर्मी अझै बढ्ने र लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।
चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा,चनौलीलगायतका बजारी क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् । गर्मीको कारणले चितवनका निजी र सरकारी दुवै विद्यालयहरु बन्द गरिएको छ भने भरतपुरका अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ ।