चितवन, असार ३ ; चितवनमा सार्वजनिक सवारीको स्थानीय भाडा घटेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरले शनिबारदेखि लागू हुने गरी जिल्ला भित्र सञ्चालन हुने सबै सवारीसाधनको भाडा घटाएको हो ।
यातायात कार्यालयले सार्वजनिक गरेको भाडादरको सूचनामा ६ किलो मिटरसम्मको भाडा २० रुपैयाँ तोकिएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । त्यस्तै ट्राफिक कार्यालयले ६ किमीसम्मको भाडा २० रुपयाँ मात्रै भए पनि ६ देखि ११ किमी सम्मको भाडा यातायात कार्यालयले २५ रुपैयाँ तोकेको नरायणी अनलाइनलाई जानकारी दिएको छ ।
जिल्ला भित्र सञ्चालनमा आउने सवारीसाधनमा यदि यात्रु ११ किमी भन्दा धेरै यात्रा गर्छ भने उक्त समय यात्रुले प्रति किमी २.८४ रुपयाँको दरले भाडा तिर्नु पर्ने ट्राफिक कार्यालयको भनाइ छ । तर, ट्राफिक कार्यालयको अनुसार यस समय यातायात कार्यालयले खोलानाला, जंगल क्षेत्रको लागि भने छुट्टै भाडा तोकेको छ । जसमा प्रति किमी ४.५० रुपयाँ तोकिएको छ ।
नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडा जेठ ३ गते र बागमती प्रदेशले जेठ ११ गतेबाट सवारी भाडा घटाएको थियो । तर, चितवन जिल्ला भित्र सञ्चालन हुने सवारीसाधनको भाडा भने आयल निगमले डिजेलको मूल्य घटाएको एक महिनापछि मात्रै घटेको हो ।
त्यस्तै विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो । सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ । अहिलेको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ ।

