हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ ।
हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि छ ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभरको बदली हुने हुँदा पश्चिम नेपालका तराईका भूभागमा तापक्रम घट्ने सम्भावना रहन्छ ।
पश्चिम नेपालमा न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेकाले मनसुन प्रवेश गर्न सकेको छैन । न्युन चापीय क्षेत्र विस्तारै कमजोर भएको र यसको प्रभाव सकिएपछि मनसुन प्रवेश गर्ने मौसमविद्हरूले बताएका छन् ।