चितवन, असार २३ : अर्कै व्यक्तिको नाममा दर्ता भएको जग्गा पास गरिदिन्छु भनि २ करोड ८८ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ बस्ने ५२ वर्षीय प्रफुल्ल भन्ने प्रमोद राज पन्त र सोहि ठाउँ बस्ने २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।
पन्तलाई असार २१ गते नवलपुरको गैंडाकोट नगरपालिका–९ बाट र मालाकारलाई काठमाडौँ–२६ छायाँ कम्प्लेक्सबाट काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरुले कानुन विपरित रित नपुगेका कागजातहरु तयार गरी आफ्नो हकभोग नलाग्ने जग्गा पास गराई दिन्छु भनि दिपेश रत्न शाक्य बुद्धाचार्यलाई ठगेका थिए ।
ठगी सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

