काँकडभिट्टा, साउन १० :नेपालको हिमालीबाहेक मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ ।
आव २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए ।
भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु ४४ लाख ८० हजार मूल्य बराबरको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।