भरतपुर मङ्सिर ५ : चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ। मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका-६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो।
आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको छ।
वैकुण्ठधाममा यस वर्ष बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापन संयोजक राजकुमार परियारले जानकारी दिए।
उनका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकन विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन्।
धार्मिक पर्यटनको विकास र प्रवर्द्धनमा मेलाले टेवा पुग्ने उनको विश्वास छ। मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज मन्दिर वरपर छर्ने चलन छ।
यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ।
यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टबक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ। बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ। श्रीराम वनबास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ।
माडीको खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे तीन किलोमिटरको दुरीमा वैकुण्ठ मेलास्थल पुगिन्छ। मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्न पाइन्छ। घाँघरखोलाको शिरमा रहेको यो तालको शिरमा दुई छहरा छन्।
चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ। तालको दक्षिणतर्फ मनै लोभ्याउने गुफा छन्, धनलक्ष्मी छहरा छ, खोली दोभान छन्।

