चितवन, भदौं ३ : नारायणगढको शहीदचोमा सञ्चालनमा रहेको भेटघाट रेष्टुरेन्टको नाम बिना अनुमति चोरी गरेपछि पोखरा र खैरहनीको दुई रेष्टुरेन्टको नाम परिवर्तन गर्न उद्योग विभागले आदेश दिएको छ ।
भेटघाट रेष्टुरेन्ट नारायणगढले पोखरा–५ जिरो किलोमिटरमा प्रियंका तिवारीद्वारा सञ्चालित रेष्टुरेन्ट र चितवनको खैरहनी नगरपालिका–८ मा तारानाथ लामिछानेले सञ्चालन गरेको भेटघाट रेष्टुरेन्टविरुद्ध मुद्दा हालेपछि विभागले नाम सच्याउन आदेश दिएको हो ।
ती दुई रेष्टुरेन्टले आफ्नो हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरी गैरकानूनी रुपमा रेष्टुरेनट सञ्चालन गरेको भन्दै भेटघाट रेष्टुरेन्ट नारायणगढका सञ्चालक गोबिन्दप्रसाद तिवारीले उद्योग विभागमा मुद्दा दर्ता गरेका थिए । उनले ‘नेपालमा दर्ता रहेको ट्रेडमार्कको अधिकार एवं ख्यातिको संरक्षण गर्न पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम विभागमा मुद्दा हालेको हुन् ।
उद्योग विभागका महानिर्देशक बाबुराम गौतमद्वारा साउन ३१ ग्ते जारी आदेशमा पोखरामा र खैरहनीमा भेटघाट रेष्टुरेन्ट नै दर्ता गरी उस्तै सेवासुविधा प्रदान गर्दै आएको पाइएपछि नाम परिवर्तन गर्न भनिएको छ । आदेशमा भनिएको छ , ‘सो कार्यबाट उपभोक्ता झुक्किने अवस्था रहने तथा भेटघाट रेष्टुरेन्टको ट्रेडमार्कको ख्यातिमा असर पर्न जाने देखिएकोले विपक्षीको लिखित जवाफ परेपछि पुन ः विचार हुने नै हुँदा हाललाई भेटघाट रेष्टुरेन्ट नामक ट्रेडमार्क प्रयोग गरी होटल, रेष्टुरेन्ट व्यवसाय नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता–२०७४ को दफा १५६ बमोजिम विपक्षीका नाममा अन्तरकालिन आदेश जारी हुने ठहर्छ । प्रस्तुत आदेशको जानकारी विपक्षीलाई दिनु ।’ नारायणगढको भेटघाट रेष्टुरेन्ट तासको परिकार सुरु गर्ने नेपालकै पहिलो रेष्टुरेन्ट हो ।