चितवन, भदौं २३ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले देशको प्रधानमन्त्री प्रचण्ड नै अराजक बनेको बताएका छन् । चितवन कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देश जातीय द्वन्द्वमा जाने सम्भावना बढेकोले प्रचण्डले त्यसलाई उकास्ने का गरेको आरोप लगाएका हुन् ।
डा कोइरालाले भने, ‘ केहीसमय अगाडि जातीय संस्थाको कार्यक्रममा प्रधानमन्त्रीले मलाई जिताउनोस् म जातीय राज्य बनाउछु भन्नुभयो । देशको प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार कुरा गर्न मिल्दैन ।’ देशमा धार्मिक र सामाजिक सद्भाव कायम गर्न नसके अप्ठ्यारो परिस्थिति आउने उनले बताए । लोकरिज्याइको नाममा चारैतिर अराजकता फैलिरहेकोमा डा कोइरालाले चिन्ता व्यक्त गरे । उनले नेपाली कांग्रेस कमजोर भयो भने जातीय द्वन्द्व भएर देश छिन्नभिन्न हुने दाबी गरे ।
वरिष्ठ नेता कोइरालाले गत स्थानीय तह र आमनिर्वाचनमा माओवादीलाई सघाउने निर्णय गर्नु महाभुल भएको बताए । उनले भने, ‘ कांग्रेसमा वडादेखि केन्द्रसम्म सबैको एउटै आवाज कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्छ भन्ने छ । यो निर्वाचन प्रणालीले कुनै पनि निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत आउन सक्दैन । आजदेखि नै यो विषयमा छलफल गर्नुपर्छ । एमाले त मान्छ होला तर माओवादी मान्दैन ।’ डा कोइरालाले देशमा केही काम गर्नलाई कांग्रेसको नेतृत्वमा सरकार चाहिले बताए । उनले भने, ‘ अहिले सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरुले केही गर्न नै सकेका छैनन् । प्रधानमन्त्री र मुख्य सचिव बसेर निर्णय गरेपछि त्यही सदर हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बन्न जरुरी छ । ’
कोइरालाले कांग्रेस चितवनका नेता तथा कार्यकर्तासँग वाचा गर्दै भने, ‘अब तपाइँहरुले अन्याय भोग्नु पर्देन । अन्याय अब म हुन दिन्न । मेरो वाचा भयो । म पुरै सहयोग गर्नेछु ।’ उनले कसलाई कांग्रेसको टिकट दिने र कसलाई टिकट नदिने भन्ने विषयमा बेग्लै संयन्त्र बनाउनुपर्ने विचार राखे ।
त्यसैगरी सम्मेलनमा पूर्वमन्त्री उमा रेग्मीले पटकपटक गठबन्धन, पार्टीका नेता तथा कार्यकर्ताको सही मूल्यांकन हुन नसक्नु र आपसी बेमेलको कारणले कांग्रेस पार्टी अलोकप्रिय बन्दै गएको बताइन् । उनले कुनै पनि निर्वाचनमा गठबन्धन गरेर जान नहुने विचार राखिन् । उनले भनिन्, ‘ म शेखर कोइरालालाई अनुरोध गर्न चाहन्छु । गठबन्धन अब गर्नु नै हुँदैन । पार्टीभित्र राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्छ ।’