चितवन, भदौं २४-भरतपुर मालपोत कार्यालयमा इन्टरनेट अवरुद्ध हुदा भरतपुर मालपोत कार्यालयको सेवा दिनभर अवरुद्ध भएको छ ।
जग्गाको कित्ताकाँट खुलेपछि मालपोतमा जग्गा किनबेचका लागि पुगेका सर्वसाधारण काम नहुँदा समस्यामा परेका हुन् ।
मालपोत कार्यालयका प्रमुख रमेश गौतमले विद्युत्को पोल ढलेको कारणले सेवा अवरुद्ध भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ इन्टरनेटलाई दिनभर फोन गरेका छौं । सेवा सुचारु हुन सकेन । आज काम नभए पनि भोलि काम हुने आशा राखेका छौं ।
मालपोत कार्यालयको गेटमा नै सूचना टाँसेर सुबिसुलगायतको इन्टरनेट एकैपटक अवरुद्ध हुन गएका कारण सेवा प्रणाली अवरुद्ध भएको बताइएको छ । शुक्रबार चितवनमा सार्वजनिक बिदा भएकोले पनि मालपोतमा सेवाग्राहीको आज भीड लागेको छ ।
भरतपुर–६ गितानगरका सेवाग्राही धर्म कँडेलले भने सामान्य कामलाई पनि दिनभर लगाउँदा नागरिकलाई सास्ती भएको बताए । उनले भने, ‘ एउटा पोल सार्न दिनभर लाउँछन् । यसै त ढिलासुस्ती हुने सरकारी कार्यालयमा इन्टरनेट सेवा नभएपछि कर्मचारीलाई ढुक्क भएको छ । जे समस्या पर्छ सर्वसाधारणलाई परेको छ ।’

