भरतपुर । दुई वर्षमा सक्नुपर्ने भरतपुर–गीतानगर सडक विस्तारको काम तीन वर्ष तीन महिनामा आधा पनि भएको छैन ।
विभिन्न बहाना बनाएर ठेकेदार कम्पनी एमएस लामा/शिवशक्ति जेभीले चरम ढिलासुस्ती गर्दै आएको छ । ठेकेदारलाई सरकारकै संरक्षण हुँदा स्थानीय जनप्रतिनिधि पनि आजित भएका छन् । जनप्रतिनिधिको नेतृत्वमा स्थानीयहरु सडक डिभिजनमा पटकपटक डेलिगेसन जाँदा पनि प्रगति भएको छैन । म्याद थपिएको थपियै छ ।
भरतपुर महानगरपालिकाले मनाउने भनेको भ्रमण वर्ष–२०२४ सुरू हुन चार महिना पनि छैन । यहाँका तीन ठूला सडक विस्तारको कामले भने गति लिएका छैनन् । भरतपुर–गीतानगर सडकको म्याद २०८१ जेठ मसान्तसम्मका लागि थपिएको सडक डिभिजन भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । उनका अनुसार यस सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ ।
वर्षा रोकिनेबित्तिकै सडक विस्तारको काम पुनः सुरू हुने उनी बताउँछन् । ‘बर्खाको सिजन छ, अहिले खन्दा पानी जम्छ । पानी रोकिएपछि काम सुरू हुन्छ’, उनले भने । तेह्रसालचोकदेखि बुद्धचोकसम्म बिजुलीका पोल सार्ने काम भइरहेको उनले बताए । उनका अनुसार हाकिमचोकदेखि सीतारामचोकसम्म, गीतानगर र चोकबजार क्षेत्रमा विस्तार हुन बाँकी छ । एक महिनाभित्र ‘साइट क्लियर’ हुने उनी बताउँछन् ।
काममा ढिलासुस्ती भएकाले ठेकेदार कम्पनीलाई चिठी काट्ने काम भइरहेको, तर कारबाहीको प्रक्रिया भने अघि नबढेको उनले बताए । यसअघि गएको जेठ मसान्तसम्म सडक विस्तार भइसक्नुपर्ने म्याद थियो । पछिल्लोपटक एक वर्ष म्याद थपिएको हो । कोरोना, आर्थिक मन्दी, निर्माण सामग्रीको अभाव, बिजुलीका पोललगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दै आएको हो ।
सडक विस्तारपछि बजार क्षेत्रमा १० मिटरसम्म र अरु ठाउँमा कम्तीमा ७ मिटर पिच हुने सडक डिभिजन भरतपुरले बताएको छ । दुई वर्षमा काम सक्ने सर्तमा निर्माण कम्पनी र सडक डिभिजनबीच २०७७ जेठ २९ गते सम्झौता भएको थियो ।