जनकपुरधाम, भदौ २७ : पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह गएराति तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् ।
मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्यो ।
करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएनन् । ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।
प्रहरी भित्र पसेपछि कैदीबन्दीहरुले पत्रकारलाई बोलाउन आग्रह गरेका थिए । त्यसपछि पुगेका पत्रकारहरुसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।
पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । अस्ति भक्तपुरमा विवाद गर्दा १८ कैदीबन्दीलाई यहाँ पठाइयो । उनीहरूले नै विवाद गरेका हुन् ।