चितवन, असोज ७-भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर–१ आँपटारीस्थित दियालो बंगलाको अवलोकन गरेकी छन् ।
भरतपुर भ्रमण वर्ष–२०२४ मा संग्रहालयका रुपमा दरबार अवलोकन गर्ने तयारी स्वरुप दाहालले आज दरबार अवलोकन गरेकी हुन् ।
नेपाल ट्रष्टसँगको सहकार्यमा सर्वसाधारणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन मन्त्रालय तथा नेपाल ट्रष्टलाई भरतपुर महानगरपालिकाले पत्रचार गरी सकेको मेयर दाहालले बताइन् ।
पत्रचारअनुसार नेपाल ट्रष्टका प्रतिनिधि, जिल्ला प्रशासनको टोली र भरतपुर महागनरपालिकाको टोलीले संयुक्तरुपमा दरबारको निरीक्षण तथा अवलोकन गरेको थियो । मेयर दाहालले महानगरपालिकाको प्रमुख भएको सात वर्षको समयमा पहिलो पटक दरबार अवलोकन गर्न पाउँदा निकै खुसी महसुस भएको उल्लेख गरिन् ।
यसअघि दरबारको बाहिरा घुमेको भए पनि भित्र भने पहिलो पटक ऐतिहासिक र उत्सुकताको विषय भएकाले यसलाई संरक्षण गर्दै खुला गर्नुपर्ने धारणा रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षको लागि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने बारेमा छलफल भइरहेकाले ठोस निर्णयमा पुग्न केही समय लाग्ने उनले बताइन् ।
महानगरपालिकाले जिटुजी लीज प्रकृयाबाट लिएर पुननिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । बजारको कोलाहल नजिकै शान्त जंगलको बीचमा रहेको दरबार अहिले जीर्ण बनेकाले यसको पुननिर्माण गर्नुपर्ने देखिएको छ । नेपाली सेनाको घेरामा रहेको उक्त जंगलभित्र एकान्तमा दियालो बंगला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला हेरचाह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको छ । दरबारको सौन्दर्यकरण गरी सर्वसाधरणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीय स्थलको रुपमा विकास गर्ने महानगरपालिकाको सोच छ ।
चितवनलाई विकासमा अगाडि बढाउने र देशको मध्यभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी राजा महेन्द्रको सक्रिय शासनकालमा २०२६ सालमा चितवनमा दियालो दरबार स्थापना भएको थियो । तर,राजा महेन्द्रको यही दरबारमा रहस्यमय ढंगबाट मृत्यु भएको थियो । चितवन आएका समय राजा वीरेन्द्र, छोरा दिपेन्द्रलगायत राजदरबारका परिवार यही दरबारमा बस्ने गरेका थिए । राजतन्त्रको अन्त्य भएपछि यो दरबार सुनसान जस्तै बनेको छ । २०६२\६३ को जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधानले स्वर्गीय राजा वीरेन्द्रको निजी सम्पत्ति नेपाल ट्रस्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो ।