काठमाडौँ, कात्तिक २–मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियासँगको महत्वपूर्ण खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले विना विकेटको क्षतिामा ५१ रन पुरा गरेको छ । ओपनर अर्जुन कुमाल २३ र दिपक बोहोरो २३ रनमा क्रिजमा छन् । समूह ए को अन्तिम खेलमा वाईएसडी युकेएम बाँगीमा भएको टसमा साउदी अरेवियाले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ । समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन् ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो ।
प्रतियोगितामा हरेक समूहमा चार टिम गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । एसिया कप पाकिस्तानमा हुँदैछ ।