चितवन, कात्तिक २-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले पर्व विशेष भन्दै उपहार पठाउने कष्ट नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका लामिछानेले रास्वपाको उपहार स्वीकार नगर्ने नीति रहेको बताए ।
उपहार आदानप्रदान सम्बन्धनको निरन्तरता र भावानात्मक पक्षसँग जोडिएको भएपनि पार्टीको नीति अनुसार उपहार लिन नमिल्ने भन्दै उनले पार्टी नीतिलाई सकरात्मक सुरुवातको रुपमा बुझिदिन पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्–
पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदानप्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ। पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ। मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही-कसैमार्फत) उपहार पठाउने कष्ट नगर्न अनुरोध छ। जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु। धन्यवाद।