एजेन्सी – ओपनर अर्जुन कुमालको कीर्तिमान शतकमा नेपालले एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो ।
नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले । योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास रचेका छन् ।
यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।
अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा अर्जुनको यो उच्च प्रदर्शन हो ।
नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।
दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीले १ सय ६२ बलमा १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरका थिए ।
अर्जुन ३९ औं ओभरको तेस्रो बलमा अहमद राजालाई सर्ट खेल्ने धुनमा मोहम्मद अहमदबाट क्याच आउट भएका थिए । लगत्तै कप्तान देव खनाल डक आउट भए । आकाशले ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए । दीपक डुम्रे १४ र मिलन बोहरा ९ रनमा आउट भए । नेपालका दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए ।
साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई दुई विकेट लिए । जुहैर मोहम्मद शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।

