चितवन, मंसिर ३-नेकपा एमाले विरोधीहरु सलबलाएको भन्दै चितवन एमाले विरोधीको गतिविधिलाई निस्तेज पार्न घरदैलोमा जाने भएको छ ।
नेकपा एमाले सम्बद्ध जनसंगठनहरुको संयुक्त बैठक बसेर आज सो निष्कर्ष निकालेको हो ।
एमाले चितवनका उपाध्यक्ष तथा मोर्चा फाँट प्रमुख कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले पार्टीका जनसंगठनका नेताहरुका विचारहरु सुनेर आगामी कार्यदिशा तय गरेको छ । पार्टी केन्द्रीय सदस्य जगन्नाथ थपलियाले समग्र राष्ट्रिय परिस्थितिको बारेमा जनसंगठनका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।
बैठकको बारेमा जानकारी दिँदै एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले एमालेविरोधी र गणतन्त्रविरोधीहरुलाई चितवनबाट परास्त गर्न जनताको घरदैलोमा जाने बैठकले निष्कर्ष निकालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अहिलेको लोकतान्त्रिक व्यवस्थाविरुद्ध लाग्नेहरुलाई परास्त गर्न पार्टीका सबै जनसंगठन एक भएर लाग्नुपर्छ । मंसिर ७ गते काठमाडौँमा हुने युवाहरुको प्रदर्शनमा पनि चितवनबाट युवाहरुको स्वतस्फूर्त सहभागिता रहन्छ ।’ उनले पुरानो राष्ट्रिय गान बजाउँनेहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । उनले अहिले सरकारले बढाएको महंगी, भ्रष्टचार जस्ता चरम बेतिथिहरुको अन्त्यको लागि खबरदारी गर्न पनि पार्टी पंक्तिलाई परिचालन गर्न लागिएको विचार राखे ।