चितवन, मंसिर २७-पछिल्लो आर्थिक मन्दीका कारणले चितवनका झण्डै ३० प्रतिशत उद्योग बन्द भएका छन् ।
चितवन उद्योग संघले गरेको पछिल्लो सर्वेक्षणमा साना, मझौला र ठूला उद्योग गरेर झण्डै ३० प्रतिशत उद्योग बन्द भएको पाइएको हो ।
चितवनमा उद्योग संघमा साना, मझौला, ठूला र बहुराष्ट्रिय गरेर एक हजार १४५ वटा उद्योग आवद्ध भएका छन् । संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले आर्थिक मन्दीका कारणले उद्योग व्यवसाय गर्न सहज अवस्था नभएको कारणले संघको तथ्यांक र अध्ययनको आधारमा झण्डै ३० प्रतिशत उद्योग बन्द भएको पाइएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बैँकको उच्च व्याजदर, विकास बजेट खर्च नहुनु, सरकारले नयाँ नीति ल्याउन नसक्नु लगायतका कारणले उद्योगहरु समस्यामा छन् । होटल तथा पर्यटन उद्योग झण्डै ४० प्रतिशत, निर्माण सेवासम्बन्धी ५० प्रतिशत र खाद्यान्न उद्योगहरु ४० प्रतिशतको हाराहारीमा सञ्चालन भएका छन् ।’ न्यौपानेले निकालेको तथ्यांक उद्योगीहरुको संघमा आएको गुनासो र सर्वेक्षणको आधारमा प्राप्त भएको हो । अध्यक्ष न्यौपानेले उद्योगहरु बन्द भएसँगै सरकारी कर र रोजगारीमा प्रत्यक्ष असर पर्ने बताए ।
ठूला उद्योगहरु मध्ये पूर्वचितवनमा रहेको युनाइटेड बेभरेज प्रालि बन्द भएको छ । यो उद्योग बन्द भएसँगै झण्डै १५० जना श्रमिकले रोजगारी गुमाएका छन् । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले युनाइटेड बेभरेज त एउटा उदाहरण मात्र भए पनि पोल्ट्री क्षेत्रका साना उद्योग धेरै बन्द भएका छन् । चितवन उद्योग संघका अध्यक्ष न्यौपानेले सरकारले नयाँ खालको नीति ल्याएर उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘ बिग्रन भन्दा सुधार्न १० गुना बढी मेहनत गर्नुपर्छ । उद्योगीहरुमा छाएको नैराश्यतालाई हौसलामा परिणत गर्नुपर्छ ।’
चितवनको आर्थिक विकास र उद्योग व्यवसायबारे अनुसन्धान गरिरहेका सप्तगण्डकी क्याम्पसका व्यवस्थापन विभागका प्रमुख डा. कपिलदेव सुवेदीका अनुसार झण्डै ३० प्रतिशत उद्योगहरु कर्मचारीलाई तलब दिन नै नसकेर बन्द भएका छन् । उनले भने, ‘ प्रारम्भिक अनुसन्धानमा चितवनको पोल्ट्री उद्योग सबैभन्दा बढी धरासायी भएको छ । चलेका उद्योगहरु पनि ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । धेरै उद्योगहरुलाई बैँकको ऋणले समस्या पारेको छ । ’
डा.सुवेदीले बैँकले कर्जा पुर्नताजगी सुविधा दिएका उद्योगहरु चलेका छन् भने अर्काेतिर विदेश जाने प्रवृत्ति बढेसँगै उद्योगको व्यापार पनि घट्दो क्रममा रहेको बताए । उनले सहजरुपमा बैँकले उद्योगलाई कर्जा दिन थाल्यो र आत्मविश्वा बढाउने काम सरकारबाट भयो भने उद्योगहरु चल्न थाल्ने बताए । उनले भने, ‘ उद्योगको सबै मेसिनहरु छँदै छन् । कार्यालय छँदै छ । कर्जा पुर्नताजगीको सुविधा पाए तत्कालै सुचारु गर्छन् ।’ रुग्ण उद्योग सञ्चालनमा राज्यले पनि चासो लिए रोजगारीका अवसरहरु बढ्न जाने सुवेदीको विचार छ ।