तनहुँ, पुस १-मुग्लिनबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज (आइतबार) बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेमध्ये बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ भने असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

