चितवन, पुस ३- चितवनमा ३९६ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसमेतको प्रहरी टोलीले भरतपुर महानगरपालिका–१ को लोकमार्ग सडकखण्डमा गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
आज बिहान ५ बजेको समयमा मुग्लिङ तर्फबाट नारायणगढ तर्फ आउदै गरेको भारतीय नम्बर प्लेट जेएचजरिोदुई डब्लु९६३१ भएको सवारीसाधन (ट्रक) लाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाजा बरामद गरेको चितवन प्रहरीले जनाएको छ । उक्त ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई लागुऔषध गाँजा ३९६ किलो ग्राम फेला परेको जनाइएको छ ।
घटनामा पक्राउ पर्नेमा ट्रक चालक भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही ट्रकमा सवार भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने वर्ष ३७ को राजपाल सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।