चितवन, पुस २३-उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा साँझ ५ बजेसम्म दुई हजार मत खसेको छ ।
प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले साँझ ५ बजेसम्म दुई हजार मत खसेको जानकारी दिएका हुन् । बिहान निर्वाचन ४५ मिनेट ढिला गरी सुरु भएकोले अझै ४५ मिनेट मतदानको समय बाँकी रहेको उनले बताए । उनले झण्डै दुई हजार ५०० मत खस्ने अनुमान गरे ।
निर्वाचन अधिकृत श्रेष्ठले आज राति ९ बजेसम्म मतगणना गर्ने तयारी रहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले निर्वाचन निकै शान्त र सौहार्दपूर्ण वातावरणमा भइरहेको बताए । उद्योग वाणिज्य संघ चितवनमा दुई हजार ९७४ मतदाता रहेका छन् ।
अध्यक्षका उम्मेदवारहरु सुमनकुमार श्रेष्ठ संस्थापन प्यानलका हुन् भने सिरिष पन्त बिना प्यानल एक्लै चुनावमा होमिएका छन् । यसअघि निर्विरोध भएका सात र निर्वाचनबाट आउने १८ गरी नयाँ कार्यसमितिले चयन हुने छ । मतदान स्थल बाहिर पनि उमेदवारहरुले व्यवसायीसँग मतको लागि अन्तिम पटक आग्रह गरिहेका छन् । संघमा वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लागि आज मतदान भइरहेको छ । जिल्लाको पुरानो नारायणी फर्निचर व्यवसायीका रुपमा परिचित अध्यक्षका उम्मेदवार श्रेष्ठले निर्वाचित भए लगानीमैत्री वातवारण निर्माण गर्ने, बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् । उनले संघमा आफ्नो पुरानो संलग्नता रहेकोले निर्वाचन जित्ने बताउँदै आएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार पन्तले चितवन महोत्सवमा हुने आर्थिक अनियिमता हटाउने, ३५ दिनभित्र महोत्सवको हिसाब सार्वजनिक गर्ने, बजार क्षेत्रलाई २४ सैं घण्टा चलाउनका लागि पहल गर्ने, पूर्वी र पश्चिम चितवनबाट आउने सवारीलाई नारायणगढ बजारसम्म ल्याउनका लागि दबाब दिने, व्यवसाय नगर्ने तर झोलामा संघको सदस्य बनेर चुनावमा भोट हाल्ने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् ।
पन्तले संघमा महिला उपाध्यक्ष पदको व्यवस्था गर्न विधान संशोधन गर्ने, बैंकको ब्याजदर र कर घटाउन पहल लिने एजेण्डा लिएको जनाए । उनी हार्डवेयर व्यवसायीका रुपमा परिचित छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (वाणिज्य)तर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन् । वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्षमा नारायण प्रधान र जनक पौडेल उम्मेदवार बनेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा भने अशोक अधिकारी सर्वसम्मत बनेका छन् । उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका थिरप्रसाद धितालले उम्मेदवारी निस्क्रिए बनाएको घोषणा गरेपछि अधिकारी सर्वसम्मत भएका हुन् । यद्यपि आधिकारिक रुपमा दुवैको उमेदवारी कायमै रहेकाले अधिकारी मतदानको प्रक्रियामा सहभागी हुने छन् ।