दाङ,२८ पुस :दाङ,२८ पुस । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट, बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान भएको छ भने अन्य १० जनाको पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो ।
उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएका २ तथा भालुवाङमा मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन। नदीमा खसेको बसलाई जेसीबीले निकाल्ने क्रममा थप ७ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई लमहीको अस्पतालमा पठाइएको छ ।
घाइते हुनेहरूमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन् । उनीहरू सामान्य घाइते छन् । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ।