प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एकताबद्ध हुन जरुरी रहेको बताए।
उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताए।
समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको उनकाे भनाइ छ।
सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे।
उनले भने, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ। अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ। सहमतिबाट नै योजना बन्नुपर्छ। अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ।’
सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको पनि बताए।