सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छन् ।
नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधबार अध्ययनका लागि उनी नासा प्रस्थान गरेकी हुन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छन् ।
सन् २०१६ मा केन्द्रीय भौतिकशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयमा भएको एस्ट्रोफिजिक्स स्कुल कार्यक्रममा भाग लिएसँगै युनिभर्सिटी अफ मेलबर्नका सहप्राध्यापक मिकेला ट्रेन्टी र क्लेयर केनयन, युरोपियन स्पेस एजेन्सीका वैज्ञानिक नोरा लुत्जन्डर्फ र निकोलस कोपर्निकस एस्ट्रोनोमिकल सेन्टर, पोल्याण्डका प्राध्यापक आन्द्रे जियास्कीको उत्कृष्ट विद्यार्थीको नजरमा परेसँगै छात्रवृत्तिमा बाल्टिमोर अध्ययनका लागि छनोट भइन् ।
विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययन गर्ने अवसर मिलेको थियो । उनलाई अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अवसर मिलेको छ ।
काठमाडौंमा एक कार्यक्रमबीच उनलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन् ।
आफूले स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययनका क्रममा प्रश्न, प्रश्न सोध्ने बानी, प्रश्नलाई कसरी समाधान गर्ने र त्यसको उत्तर के भन्नेकुरा नै वैज्ञानिक हुनुको आत्मा रहेको आफूले बुझेको उनको भनाइ छ ।