भरतपुरमा दिनमा बारम्बार विद्युत् अवरुद्ध हुँदा सेवाग्राहीहरु हैरान भएका छन्। अत्यधिक गर्मीको समयमा बिजुली झ्याप्पझ्याप्प हुँदा विद्युत् प्राधिकरणको सेवाबाट ग्राहकहरु असन्तुष्ट भएका छन्। सबस्टेसनबाट वितरित फिडरहरु ओभरलोडमा चलेकाले विद्युत् अवरूद्ध भएको प्राधिकरणले बताएको छ।
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रअन्तर्गत बसेनी र आँपटारी सबस्टेसनहरु सञ्चालनमा छन्। यी दुई सबस्टेसनबाट वितरित १५ वटै फिडरहरु ओभरलोडमा चलिरहेको वितरण केन्द्र प्रमुख इन्जिनियर रामु श्रेष्ठ बताउँछन्। गर्मीको समयमा एसीलगायत बढी विद्युत् खपत गर्ने उपकरणहरु सञ्चालन हुँदा फिडरहरुमा ओभरलोड परेको उनले बताए।
स्थानीयले अवरोध गर्दा आवश्यक परेको ठाउँमा ट्रान्सफर्मर राख्न नपाइने अवस्था छ। “जबर्जस्ती भए पनि हामीले विभिन्न ठाउँमा १० वटा ट्रान्सफर्मर राख्दै छौँ,” उनले भने। “फिडरहरुमा ओभरलोड हुँदा दिनमै चार-पाँच ठाउँमा केबल जल्ने गरेका छन्।” विद्युत् लोड व्यवस्थापनका लागि ६० भन्दा बढी ट्रान्सफर्मर राख्नुपर्ने तर स्थानीयको अवरोधका कारण राख्न नसकिएको उनले बताए।
ट्रान्सफर्मर राख्दा खतरा हुने भन्दै केही व्यक्तिले आफ्नो घरनजिक ट्रान्सफर्मर राख्न दिँदैनन्। देवनगर सबस्टेसन मर्मत भएर सञ्चालन भएको अवस्थामा फिडरमा परेको लोड केही व्यवस्थापन गर्न सकिने उनी बताउँछन्। “देवनगर सबस्टेसन सञ्चालनमा आएपछि हामीलाई धेरै राहत मिल्छ,” उनले भने।
गएको जेठ १८ गते आएको हावाहुरीले २०/२४ एमभिको सबस्टेसनअन्तर्गतका १३० वटा बिजुलीका पोल भाँचेको थियो। जेठ ५ गते उद्घाटन गरिएको उक्त सबस्टेसन त्यसयता बन्द छ।
देवनगर सबस्टेसन मर्मत गर्ने काम भइरहेको ग्रीड सोलार तथा इनर्जी इफिसियन्सी आयोजनाकी प्रमुख संगीता कार्कीले बताइन्। अबको एक हप्ताभित्र सबस्टेसन सञ्चालनमा आउने उनको भनाइ छ। “जेठमा आएको हावाहुरीले सबस्टेसनअन्तर्गतका २४० वटा पोलमध्ये १३० वटा पोल ढालेको थियो। हावाहुरीले पोल, तार र इन्सुलेटरलगायतमा गरी करिब ३५ लाख रूपैयाँबराबरको क्षति भएको छ,” उनले भनिन्।
उनका अनुसार सबस्टेसनभित्र कुनै क्षति भएको छैन। तर, सबस्टेसनबाट वितरण गरिएको साढे नौ किमी लाइनमध्ये साढे पाँच किमी लाइनमा क्षति पुगेको छ। “पोलबाट सबै तार झारेर मर्मत गर्ने काम गरिरहेका छौँ। अबको एक हप्तामा मर्मतको काम सकेर सबस्टेसन सञ्चालन गर्छाैं,” उनले भनिन्।
देवनगर सबस्टेसन सञ्चालनमा आएपछि गीतानगर, फूलबारी, गौरीगञ्ज, पटिहानीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति हुने गरेको थियो। सबस्टेसन बन्द भएपछि ती ठाउँमा बसेनी र आँपटारी सबस्टेसनकै फिडरबाट विद्युत् सेवा दिन थालिएको हो। भरतपुर वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरका २० भन्दा बढी वडाहरु पर्छन्।

