चितवनको सदरमुकाम भरतपुरदेखि २५ किमी पश्चिममा पर्ने मेघौली प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न रहेको छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापुजस्तो देखिने मेघौली काठमाडौँबाट करिब ६ घन्टाको दूरीमा गाडीबाट १६० किमीको यात्रा गरेपछि पुगिने प्रख्यात पर्यटकीयस्थल हो ।
राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु हो । मेघौली भरतपुरदेखि २५ किलोमिटर पश्चिम दक्षिणमा पर्दछ। मेघौलीमा जंगल सफारी,डुंगा सफारी, होमस्टेको बसोबाससँगै नारायणी र राप्तीको संगमस्थल गोलाघाटबाट देखिने सूर्यास्तका लागि समेत परिचित छ । मेघौली क्षेत्र पर्यटकहरुलाई गैंडा, बाघलगायत वन्यजन्तु र चराचुरुंगी सजिलै अवलोकन गर्न सकिने स्थानमा पर्दछ ।
मेघौली पुगेपछि पर्यटकहरुले दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक संग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जंगल वाक र जीप सफारीमा रमाउन पाउँछन् । अकोतर्फ चरा अध्ययन, अवलोकनकर्ता खर मयुर हेर्नका लागि पनि मेघौली पर्यटकहरुको रोजाइमा पर्दछ ।
समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टे र सुविधासम्पन्न आरामदायी होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने मेघौली पर्यटकहरुको प्रमुख रोजाइमा पर्दछ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापूजस्तो देखिने मेघौली काठमाडौँबाट करिब ६ घन्टाको दूरीमा गाडीबाट १६० किमीको यात्रा गरेपछि पुगिने प्रख्यात पर्यटकीय स्थल हो । ९ वटा सामुदायिक वनहरु, सिमसार क्षेत्र, घाँसे मैदान तथा थुप्रै तालहरु भएकाले चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा चराचुरूङ्गीको बाक्लो बासस्थानका रुपमा मेघौली प्रख्यात छ ।
कुनै समय चितवनको प्रमुख पर्यटकीय गन्तव्य थियो, मेघौली।पर्यटककै चहल पहलले मेघौली विमानस्थल भरतपुर विमानस्थलभन्दा बढी व्यस्त हुन्थ्यो । निकुञ्ज भित्रको टाइगर टप्स होटलले मेघौलीमा पर्यटक बढाउन भूमिका खेलेको थियो ।चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्व प्रख्यात ब्रान्ड नै भएको छ ।
कुनै समय विश्वका‘वाइल्डलाइफ’ पारखीमाझ नेपालभन्दा ज्यादा टाइगर टप्स प्रसिद्ध थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुट्टिन्थे, टाइगर टप्सका पाहुना। चार्टर्ड विमान चढेर मेघौली विमानस्थल पुग्थे। चार्टर्ड गरिएका पिलाटस, ट्विनअटर विमानहरू मेघौली एयरपोर्टमा अवतरण गरिरहन्थे । मेघौलीबाट ल्यान्डरोभर गाडीले पाहुना बोकेर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स लज पुर्याउथ्यो ।
अफ्रिकाको जंगलतिर लाखौँ डलर खर्चिने धनाढ्यहरू टाइगर टप्सका पाहुना हुन्थे । विश्वका चर्चित लेखक, चिन्तक, गायक, नायक, निर्देशकसम्म टाइगर टप्स लजको पाहुना बनिसकेका छन् । बाघ, गैँडा, हात्ती, चराचुरुंगी टाइगर टप्सको कम्पाउन्डभित्रै आउँदा लजको ख्याति संसारभर पुग्यो ।राजपरिवार र कुलिन राणापरिवार जंगल सफारी गर्थे, सिकार खेल्न हप्तौं जंगलमा बिताउँथे । मेघौली विमानस्थलमा खुट्टा परेदेखि हरेक सेकेण्डलाई रहस्यमय, आकर्षक, शिक्षाप्रद र उपयोगी ठान्दथे अतिथिहरु ।
‘पंक्षी हेरौं कि जलचर ? वनस्पति राम्रो कि घांसे मैदान ? जैविक विविधता हेरौं कि भौगोलिक सामाजिक र सांस्कृतिक विविधता ?’ अहिले टाइगर टप्स जंगल लज बन्द छ । अहिले टाईगर टपको जीर्ण अस्थिपंजर पूर्वाधार भूतबंगला जस्तो भएर बसेको छ
टाईगर टपले २०५७ सालमा रु १० लाख चन्दा दिएको जानकी मा.वि. मेघौली कति सुन्दर र शान्त । झललल चम्किरहेको ।टाईगर टपले स्कूल स्कूल गएर संरक्षण शिक्षा डकुमेन्ट्री देखाएका विद्यार्थीहरु अहिले हार्डकोर संरक्षण अभियन्ता भएकाछन ।बाघको अनुगमन अनुसन्धान र संरक्षण गर्न टाईगर टपले आई.टि.सि.एन. मार्फत प्रशिक्षित गरेका प्राविधिकहरु अहिले पनि हातमा दुरबिन र क्यामरा लिएर स्वस्फूर्त बाघको पगमार्क अध्ययन गर्न तल्लीन रहिरहेको र कतिपय नेचुरिलिष्टहरु पि.एच.डी. डाक्टर भइसकेका छन ।
टाईगर टपले रोजगार दिएका हजारौं स्थानीयवासीहरु आजपनि खुशी, सुखी, अनुशासित र गौरवान्वित । ग्रीन ड्रेसमा सजिएर संरक्षणको अभियन्ता भई समाज सेवामा जुटिरहेका । आफू नमूना भई अनुशासन र संरक्षणको सकरात्मक मार्गमा समाजलाई डो¥याइरहेकाछन ।टाईगर टपको एम्बुलेन्स सुविधा, स्वास्थ्यसेवा र स्वास्थ्य उद्धार पाएर जीवनदान पाएका स्थानीयवासीहरु टाईगर टप प्रति आज पनि अनुग्रहित भइरहेका र टाईगर टपलाई मिस गरिरहेकाछन ।
बाघ संरक्षणमा लागे बापत मासिक भत्ता र कदरस्वरुप नगद पुरस्कार प्राप्त गर्ने जेहेन्दार युवाहरु आजपनि हार्डकोर संरक्षणकर्मी भएर समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूहमा आबद्ध भएकाछन ।टाईगर टपको शिक्षा दिक्षा र पाठलाई ‘संरक्षण पुँजी’ ठानेर त्यसको रक्षा सम्मानमा कम्मर कसेर लागेकाछन।
टाईगर टप्सलाई । संरक्षण गुरु । समुदायको पुजारी । प्रकृति पुजारी । संस्कृतिको जगेर्ना र सम्मानप्रति संवेदनशील ।टाईगर टप्सले उहिले पीछडिएको क्षेत्र, जाती, लिङ्ग, समुदायलाई आरक्षण दिन सिकाइसकेको थियो । रोजगारीको ९२ प्रतिशत जनशक्ति थारु, कुमाल र बोटे स्थानीयहरुबाट परिपूर्ति गरिन्थ्यो ।स्थानीय समुदायलाई स्कूल–स्कूल, घर–घरमा पुगेर संरक्षण सचेतना कार्यक्रम असरदार तरिकाले चलाउदथ्यो । शिक्षा र स्वास्थ्यमा उल्लेखनीय लगानी गरेर सामुदायिक उत्थानमा पु¥याएको योगदान कदरयोग्य थियो ।
टाईगर टप्सले कूल क्षमताको २ तीहाई मात्र अतिथि बुकिङ्ग लिने गर्दथ्यो । सबैलाई भरपूर आतिथ्यता पुगोस् र खुशी पार्न सकियोस भन्ने नितान्त सेवामुखी ध्याउन्न थियो ।टाईगर टप्स मलाई कहिले लोभी–पापी व्यावशायिक व्यापारी संस्था थिएन । बरु त्यो ज्यादै अनुशासित र संरक्षणमा समर्पित संरक्षण संस्था थियोे ।
मेघौली एयरपोर्ट पनि टाइगर टप्सले नै बनाइदिएको हो । कतिसम्म भने एयरपोर्टका सुरक्षाकर्मी, कर्मचारी सबैलाई तलब टाइगर टप्सले खुवाउँथ्यो । एयरपोर्टको मेन्टेनेन्स टाइगर टप्सले गथ्र्यो। टाइगर टप्सका पाहुना काठमाडौँ उत्रेपछि एयरलाइन्सले मेघौलीमा फ्लाइट सेड्युअल राख्थे । कुनै बेला दैनिक १० वटासम्म उडान भएको रेकर्ड रहेको मेघौली विमानस्थल गौचरन बन्ने चिन्ता थपिएको छ ।
२५ सिटका साना जहाज चल्ने मिानस्थलमा बनेका संरचना भत्किन लागेका छन् । एटिसी टावर र टर्मिनल भवन चालू अवस्थामै रहे पनि मैदानको अवस्था बिग्रँदो छ । काँडे तार लगाएर जमिन त घेरिएको छ, तर विमान उडेका छैनन् । कहिलेकाहीँ नेपाली सेनाको जहाज अवतरणबाहेक अन्य कुनै प्रगति छैन । २३ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थल २०६६ साल जेठबाट नियमित उडान ठप्प भयो ।
विश्वकै एकमात्रै अन्तर्राष्ट्रिय हात्ती पोलो मेघौलीमा हुन्थ्यो । राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाट पर्यटकका लागि सौराहाभन्दा विशेष थियो । स्थानीय थारु, बोटे, मुसहर जीवनशैली, रहनसहन र संस्कृतिलगायतले मेघौलीको पहिचान विश्वमाझ पु¥याउँदै थियो । तर, आज मेघौलीमा त्यो रौनक छैन । यो ठाउँ अहिले उजाडिएको छ । पुरानो पर्यटकीय र आर्थिक माहोल अहिले लगभग शून्य अवस्थामा झरेको छ ।
चितवनको पर्यटनको मुख्य आधार चितवन राष्ट्रिय निकुञ्ज हो । ईस्वी सन् १९६२ सम्म सोमेश्वर पर्वतिय र आसपासको जलाधरमा रहेका वनजङ्गल क्षेत्रहरूमा नेपाल, भारत र युरोपेली राजा, महाराजा नवाब एवं अमेरिकन व्यापारिक घरानाहरूका बीचमा सिकार खेल्नको लागि “दि ग्रेट हन्टिङ्ग गेम ईन नेपाल तराई“ निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जहरूको रूप लियो। हाल आएर चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारततर्फ बाल्मीकि टाइगर रिजर्भहरू सरकारद्वारा ब्यवस्थित रूपमा संरक्षित रहेकाछन ।
नेपालको मध्य तराईमा अवस्थित यस क्षेत्र जैविक विविधताको धनी रहेकोछ। विशेष गरेर एक सिंगे गैंडा र पाटे बाघको लागि प्रख्यात छ । यसको जलाधर क्षेत्रमा रहेका निकुञ्जहरूमास्तनधारी प्राणी, चराचुरूङ्गी र जलथलचर तथा घस्रने प्राणीहरू र माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा गैंडा, बाघ, चितुवा, भालु, हात्ती, निलगाई, हरिण, चित्तल, दुम्शी तथा लंगुर बाँदर आदि पर्दछन्।
सोमेश्वर पर्वतिय जलाधरमा अवस्थित राष्ट्रिय निकुञ्जहरूले कूल क्षेत्रफलको ७०% भूभाग ओगटेको छ। यो क्षेत्र उपोष्णकटिबंधीय विशिष्ट वनस्पति प्रजातीयहरूको सघन वनक्षेत्र हो र मुख्यतया सालका रूखहरू रहेकाछन्। यस भावरक्षेत्रमा सबैभन्दा विशुद्ध साल, सिसौ र चीर पाइन हरूको मिश्रित वनक्षेत्र रहेकोछ।
यस क्षेत्रको तल्लो टटिय घाँसे मैदानहरूले संरक्षित वनजंगलको लगभग २०% क्षेत्रफल ओगटेको छ र ५० भन्दा बढी प्रजातिका घाँसहरू पाइन्छन्। सुखेभार क्षेत्रमा पाइने संसारको सबैभन्दा अग्लो घाँस हात्तीघाँस, खडाई, नरकट र काँस लगायत प्रजातिका घाँसहरू पाइन्छन्।
विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्धत गरेको छ । ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज जैविक विविधता संरक्षण गर्ने उद्देश्यले देशकै पहिलो संरक्षित क्षेत्रका रुपमा विसं २०३० साल आश्विन ४ गते स्थापना भएकोहो।
नेपालकै पहिलो राष्टिय निकुञ्जको रुपमा स्थापना भएको यो निकुञ्ज दुर्लभ एक सिंगे गैंडाका लागि विश्वभर प्रख्यात रहेको छ । सन् १९८४मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भए पछि यो निकुञ्जमा विश्वभरका पर्यटकहरुको रोजाइमा पर्न थाल्यो ।
चितवनको पर्यटन भन्नासाथ धेरैको बुझाइ राष्ट्रिय निकुञ्ज भन्ने हुन्छ । हुन पनि हो निकुञ्जमा वाह्य पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटकहरुको पनि घुइचो लाग्ने गर्दछ । निकुञ्जमा प्रवेश गर्न पूर्वमा सौराहा र पश्चिममा मेघौली दुई मुख्य प्रवेशद्वार छन । निकुञ्ज भित्र पाइने एक सिंगे गैंडा, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालु लगायतका जंगली जनावर हेर्नकै लागि पर्यटकहरु निकुञ्जमा घुम्न पुग्छन् ।
निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्र हेर्न र विभिन्न किसिमका चराचुरुंगी एवं जैविक विविधताले गर्दा चितवनमा पर्यटकहरु घुम्न मन पराउँछन् । विश्व सम्पदा सूचीमा समेत सूचिकृत निकुञ्जभित्र रहेका ठूला घाँसे मैदान, सिमसार क्षेत्र ताल र चराहरुको चिरविर आवाजले पर्यटकहरुलाई आकर्षण गर्दछ ।
त्यसमा पनि हात्तीमाथि चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्जभित्रका जंगली जनावर हेर्न पर्यटकहरुलाई रमाइलो हुन्छ । चितवनमा वाह्य पर्यटकहरुको आगमन भने मेघौलीमा होटल टाइगर टप्स सन्चालन भएदेखि मात्र शुरुवात भएको हो । तर अहिले मेघौलीको टाइगर टप्स होटल बन्द भएको पनि धेरै भएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा यहाँको पर्यटनका आफ्नै विशेषता र सीमाहरु पनि छन् । विश्वबाट लोप हुने अवस्थामा पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, पाटे बाघलगायतका अनेकौँ जंगली जनावर, जलचर, चरा र वनस्पतिहरुसँग सजिलै साक्षात्कार हुन सक्ने अवसर यहाँ छ । यी देख्दा पर्यटकहरु रोमाञ्चक अनुभव गर्छन् । निकुञ्जवरपरको सामाजिक जनजीवन पनि पर्यटकलाई आकर्षण गर्न सक्ने खालको छ । आदिवासी थारु, दराईजस्ता समुदायको भिन्न जीवनशैली, संस्कार र संस्कृति पर्यटकलाई मन पर्ने विषय हुन् ।
यस्तो प्रचुर विशेषता बोकेको यो नेपालको प्रमुख र पहिलो निकुञ्ज हो । पर्यटक तान्न यसको नामै काफी छ । त्यसैले त चितवन निकुञ्जले वर्षमा दुई लाखको हाराहारीमा पर्यटकहरु भित्र्याउने गरेको छ । विशेषताका साथै यसका सीमाहरु पनि छन् । यो निकुञ्जको प्रमुख उद्देश्य संरक्षण हो । संरक्षणलाई अवरोध हुने गरेर पर्यटन विस्तार गर्न मिल्दैन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा हात्तीसारमा २०६० सालतिर जंगली हात्तीको अनपेक्षित प्रवेश भयो । अनपेक्षित यसकारण कि घरपालुवा भाले हात्तीमाथि आक्रमण गरेर त्यसले ज्यान लियो । त्यसपछि निकुञ्जलाई धेरै ठूलो समस्या सिर्जना भयो ।तत्कालै राष्ट्रिय निकुञ्जले इलेक्ट्रिक फेन्स मेसिन ल्याएर हात्तीसारमा जडान ग¥यो । जंगली हात्तीबाट त्यो हात्तीसारलाई सुरक्षित गरियो । निकुञ्जभरिका भाले हात्तीलाई त्यहीं ल्याएर राखियो । सरकारी हात्ती जोगाउन इलेक्ट्रिक फेन्स लगाइयो । यस्तो मेसिनले चसक्क झट्का मात्र दिन्छ, कसैको ज्यान भने लिँदैन । ६ महिनासम्म निगरानी गरेपछि निकुञ्जसँग अनुरोध गरियो । यस्तै खालको मेसिन प्रयोग गरेर अरूतिर लगाउने सुविधा माग्यौं । ताकि निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीयलाई वन्यजन्तुबाट जोगाउन सकियोस् ।
तर, निकुञ्जसँग लामो वादविवाद भयो । तत्कालीन प्रमुख संरक्षण अधिकृत शिवराज भट्टले लगाउन अनुमति दिए । यसमा अग्रसरता लिएर समुदायमै सबैभन्दा पहिले इलेक्ट्रिक फेन्स जडानको सुरुवात भएको हो । मृगकुञ्ज उपभोक्ता समितिमार्फत अध्यक्ष भएको हैसियतले यो काम सम्पन्न ग¥यौं । आफ्नो इलाकामा जडान गरेर कुमरोजका सबै क्षेत्रमा मेसिन उपलब्ध गरायौं । त्यसपछि यो प्रविधि लोकप्रिय हुँदै गयो । तर मर्मत सम्भारमा ध्यान दिन सकिएन । अर्कोतिर हात्ती आफैं चलाख भयो ।
पिलर ढाल्ने, लाइन गएको बेला भत्काउने गर्न थाल्यो । त्यो बेला स्थायी रूपमा आरसीसी वाल नै लगाएर छेक्नुपर्छ भन्ने भयो । पहिलो वाल चितवनको जनकौली सामुदायिक वन क्षेत्रमा लगाइयो भने पछि बाघमारामा । त्यसपछि प्रादेशिक सरकारको नेतृत्वमा कुमरोज लगायतका क्षेत्रमा लगाइँदै छ । बाली खान बस्ती छिरेका गैंडा, हात्ती लगायतका वन्यजन्तुलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । जनता पनि आफ्नो सीमाभित्र बस्नुपर्छ । निकुञ्ज क्षेत्रलाई अतिरिक्त अतिक्रमण गर्नुभएन । निकुञ्जलाई कसरी जनावरमैत्री बनाउने भन्ने हिसाबले पर्याप्त खाली जमिन, घाँसे मैदानको व्यवस्थापन गरेर त्यसलाई अनुकूल वातावरण बनाउन सकिन्छ ।
जनावरलाई निकुञ्जभित्र नै बस्ने अवस्था सिर्जना गर्न सकिन्छ । बरु राष्ट्रिय वन, अतिरिक्त सामुदायिक वन र अन्य वन क्षेत्रलाई राम्रोसँग विस्तार गर्न सकिन्छ । वन्यजन्तु हिँड्ने करिडोरलाई अझै मजबुत बनाएर एक ठाउँमा भएको जनावरलाई बिस्तारै अर्को ठाउँमा जान सक्ने बनाउन सकिन्छ । चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज जोडिएको छ । वाल्मीकि जोडिएको छ । यसमा मध्यवर्ती र राष्ट्रिय वन समेतलाई जोड्ने हो भने ४ हजार स्क्वायर किमिभन्दा बढी वन क्षेत्र यहाँ छ ।
निकुञ्जको प्रमुख समस्या चोरी–सिकारी हो । अहिले चितवन निकुञ्जमा यो नियन्त्रित छ । अर्को समस्या मानव–वन्यजन्तुबीचको द्वन्द्व भने दशकौंदेखि जारी छ । हामीले वन्यजन्तुको संख्या वृद्धि गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय लक्ष्य निर्धारण ग¥यौं । खासगरी पिटर्सबर्गमा सन् २०११ मा बाघ पाइने संसारका राष्ट्र प्रमुखहरू जम्मा भएका थिए । त्यस सम्मेलनमा २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर भएको थियो । त्यतिखेर नेपालबाट प्रधानमन्त्री माधवकुमार नेपालले भाग लिएका थिए । तर विरलै देशले त्यो लक्ष्य पूरा गरे । सौभाग्यवश नेपालले निर्धारित समयभन्दा अघि नै बाघको संख्या दोब्बर बनायो ।
नेपालमा करिब ४५ प्रतिशत इलाका वन क्षेत्रमा राखिएको छ । अहिले गैंडा र हात्तीको संख्या बढिरहेको छ । यसका लागि सुरक्षा र बासस्थानको व्यवस्थापन ग¥यौं । तर कसरी बाघको व्यवस्थापन गर्ने भनेर पर्याप्त गृहकार्य गरेनौं ।
जसका कारण हरेक वर्ष मानव–वन्यजन्तुबीचको असमझदारीले क्षति व्यहोरिरहेका छौं । आजको दिनमा प्रतिवर्ष २५ जनाभन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । १५÷२० वर्षअघि १०÷१२ जनाले मात्रै ज्यान गुमाउने गरेको तथ्यांक छ ।
अहिले मानव मृत्युको संख्या दोब्बर भएको छ । घटना पनि दोब्बरले बढिरहेको छ । अंगभंग भएका, पशुबस्तु तथा घरबार र अन्न क्षति भएको तथ्यांक निकाल्ने हो भने त्यो अझ बढी हुन्छ । यस्तो अवस्थामा सधैं त्रास सहेर स्थानीय बासिन्दाले लामो समयसम्म निकुञ्जको व्यवस्थापनमा सकारात्मक योगदान दिइरहन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नले भने लखेटिरहेको छ ।
चितवन निकुञ्जले सन् २०१५ देखि २०१८ सम्मका लागि क्याट्स अवार्ड प्राप्त गरेको थियो । बाघको बासस्थानको दृष्टिकोणले संसारकै उत्कृष्टमध्येको निकुञ्ज भनेर त्यो अवार्ड विश्व वन्यजन्तु कोषले चितवनलाई दिएको थियो । आजको दिनमा त्यो अवार्ड वाल्मीकि आरक्षले प्राप्त गरेको छ । त्यो भारतको भए पनि चितवनसँग जोडिएको छ । त्यस्तै हैसियत राख्ने निकुञ्ज पर्सा निकुञ्ज पनि हो । जहाँको वन क्षेत्रमा बाघ, हात्ती, गैंडा, गौरीगाई, भालु, मगर गोही, घडियाल गोही छन् । यो ठूला वन्यजन्तुको मुख्य बासस्थान हो । जनावर र वन क्षेत्रको दृष्टिकोणले यो उत्कृष्ट ठाउँ बनेको छ ।
हात्तीले मानिसलाई धेरै आक्रमण गर्नुको कारणमध्ये उनीहरू हिँड्ने बाटोमा बस्ती बस्नु पनि हो । हात्तीको स्मरणशक्ति अपार हुन्छ । सानामा माउसँग हिँडेको थियो भने ५० वर्ष पछिसम्म पनि त्यो सम्झिरहन्छ । हिजो हात्ती हिँड्ने वनको बाटो मासेर बस्ती बसिसकेको छ भने उसले त्यो मान्दैन । मैले हिँड्ने बाटो हो भनेर हिँडिरहन्छ । झापातिरको समस्या यही हो । जहाँ हिजो जंगल थियो, पछि बस्ती बस्यो । हात्तीलाई के थाहा छ भने यो वनबाट त्यो वनमा जाने बाटो यही हो । त्यही भएर त्यहाँ झुन्डका झुन्ड हात्ती हिँड्छन् । जसले वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहेको छ । वन्यजन्तुपिच्छे उसको व्यवहार फरकफरक हुन्छ । हात्तीको छुट्टै, गैंडाको छुट्टै हुन्छ । बाघलाई ठूलो क्षेत्र चाहिन्छ । बाघ बुढो भएपछि सिकार गर्न सक्दैन । त्यसपछि सजिलो तरिकातिर लाग्छ । पहिलो रोजाइ पशुबस्तु हुन्छ । त्यो पनि सजिलो नभए बस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्ने हो ।
बाघको बासस्थान भएको जहाँसुकै पनि समस्या छ । दुइटा बाघ जुधेर कमजोरलाई मारिदिने घटना पनि भइरहेका छन् । प्रविधिको माध्यमबाट बाघ कति वर्षको भयो भन्ने कुरा थाहा पाउन सके वृद्धलाई प्राकृतिक चिडिखानामा राखेर पर्यटनसँग जोड्न सकिन्छ । उनीहरूको बास प्राकृतिक हुनुपर्छ । जंगलमै बसेको अनुभूति होस् । हात्तीको हकमा परापूर्वकालदेखि हिँडिरेहको बाटोमा अवरोध गर्नुभएन । सानो इलाकामा एउटा जंगलबाट अर्को जंगलमा जाने बाटो बनाउनुपर्छ । हात्ती हिँड्ने बाटोमा रहेको बस्तीलाई अन्यत्रै सुरक्षित ठाउँमा सार्ने व्यवस्था गर्नुपर्छ । बस्ती सरिसकेपछि त्यस ठाउँलाई वन क्षेत्रकै रूपमा विकास गर्नुपर्छ । गैंडा भने मीठो बाली खान मात्र बस्ती पस्ने हो, नत्र उसको अरू केही स्वार्थ छैन । मान्छे मार्न ऊ बस्तीमा आउने होइन । गहुँ, मुसुरो हुर्किरहेका बेला आउने हो । जंगलभित्र राम्रो घाँसे मैदान र खुला क्षेत्रको सिर्जना गर्ने, सामान्य भौतिक संरचना निर्माण गर्ने हो भने गैंडालाई वनमा राख्न सकिन्छ ।
जनचेतनाको कमीले गर्दा पनि गरिबीको रेखामुनि रहेका समुदाय वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । अर्कोतर्फ निकुञ्ज क्षेत्रमा घाँस, दाउरा गर्नुपर्ने बाध्यताले गर्दा पनि उनीहरू वन्यजन्तुको आक्रमणमा परिरहन्छन् । सामान्य घर भएका निकुञ्ज, मध्यवर्ती आसपास बस्ने समुदाय बढी पीडित छन् । सीमान्तकृत समुदायमा यसको असर अझ धेरै छ । उनीहरूको निर्भरता फेरि वन र निकुञ्जप्रति नै छ । माछा मारेर, दाउरा खोजेर, बस्तु चराएर, घाँस ल्याएर उनीहरूको जीविका चलेको छ । त्यसका लागि जंगलभित्र जानुपर्छ । घटना हुने खतरा त्यही समुदायमा बढी हुने हो ।
करिडोरको बाटो बाहेकको क्षेत्रमा भौतिक पूर्वाधार राम्रो र बलियो बनाउनुपर्छ । वरिपरि बसोबास गर्ने समुदायको जीविकाको माध्यम आयआर्जन बनाउनुपर्छ । दाउरा, माछा मार्ने मान्छेलाई नेचर गाइड बनाउन सकिन्छ । काठको हात्ती, गैंडा बनाउने तालिम दिएर आम्दानी गर्ने आधार बनाउनुपर्छ । जसले गर्दा निकुञ्ज र वनमा निर्भर रहनुपर्ने छैन । वैकल्पिक जीविकोपार्जनको आधार दिनुपर्छ । निकुञ्ज हिजो जस्तो थियो, त्यस्तै छाड्ने भन्ने थियो । तर यसमा परिवर्तन आवश्यक छ । नीति नियमलाई सहज बनाउनुपर्छ । वन क्षेत्रलाई विस्तार र व्यवस्थित गर्नुपर्छ । अहिले वन क्षेत्र घटिरहेको छ । प्राणी भनेका पृथ्वीका अनुपम सृष्टि हुन् । आजको दिनमा मान्छे व्यवस्थित किसिमले बस्नुपर्छ । हामीसँग प्रविधि छ, स्रोत छ ।
पर्सा, बर्दिया, शुक्लाफाँटासम्मलाई जोडेर व्यवस्थापन गर्ने हो भने एक हजारभन्दा बढी गैंडा दीर्घकालसम्म सुरक्षित राख्न समस्या हुने छैन । सचेतना र बुद्धिमतापूर्वक हिसाबले यसलाई समयमै व्यवस्थापन नगर्ने हो भने अनेपक्षित परिणाम र अवस्था सिर्जना गर्न सक्छ । निकुञ्जलाई राम्रोसँग व्यवस्थित गर्न वन्यजन्तुका लागि घाँसे मैदान बढाउनुपर्छ । निकुञ्जभित्रै आहाराको व्यवस्थापन गरेर वन्यजन्तुलाई बाहिर आउन नदिने वातावरण बनाउनुपर्छ । वन्यजन्तु बस्तीमा आउन नसक्ने किसिमका पूर्वाधार निर्माण गर्नुपर्छ । तर पूर्वाधार निर्माण गरिरहँदा वन्यजन्तुको निर्बाध आवागमनलाई पनि ध्यान दिनुपर्छ । करिडोर इलाका अर्थात् एउटा वनबाट अर्को वनमा जानुपर्ने ठाउँमा हामीले मानवलाई भन्दा वन्यजन्तुलाई प्राथमिकता दिएर पूर्वाधार बनाउनुपर्छ । निश्चित ठाउँमा वन्यजन्तु राख्ने भन्दा पनि त्यो क्षेत्रफललाई बढाएर निकुञ्जबाट मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनहरूमा वन्यजन्तु राख्न सकिन्छ । त्यस किसिमका क्षेत्र वृद्धि गर्दै त्यसको करिडोरलाई व्यवस्थित गर्दै जानुपर्छ ।
जसरी डाइनोसर लोप भएको थियो, भोलिका दिनमा बाघ, गैंडा, हात्ती जोगाउन सकेनौं भने मानव सभ्यता नै लान्छित हुनेछ । यो जोगाउने दायित्व निकुञ्ज छेउमा बस्ने सीमान्तकृत समुदायलाई मात्र जिम्मा लगाएर सबैको दायित्व पूरा हुन्छ र ? जबजब जनावरको संख्या बढ्दै गयो, त्यही अनुपातमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । यदि निकुञ्ज अन्तर्राष्ट्रिय सम्पदा हो भने अन्तर्राष्ट्रिय प्रविधि र साथ चाहिन्छ । सरकारको विशेष चासो हुनुपर्छ । सबै मिलेर सम्पदालाई जोगाऔं । ताकि भावीपिँढीले दुर्लभ वन्यजन्तुलाई देख्न पाऊन् । कुनै जीवजन्तुबिना मान्छे मात्रको पृथ्वी भयो भने त्यो सुन्दर देखिएला र ?
केही होटलहरुले मात्रै मेघौलीमा पर्यटक पु¥याउँदैछन् । २०६६ सालमा टाइगर टप्स निकुञ्जभित्रबाट बाहिरिएपछि मेघौलीको दुःख सुरू भएको हो । मेघौलीबाट भित्र, चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स होटल बन्द भएको ११ वर्षभन्दा बढी भयो। २०६९ सालमा सर्वोच्च अदालतको आदेशबाट टाइगर टप्ससँगै निकुञ्जभित्रका आइल्यान्ड जंगल लज, टेम्पल टाइगर्स लज, सफारी नारायणी, चितवन जंगल लज, मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्ड लाइफ क्याम्प पनि बन्द भएका थिए।
सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ मा टेकेर ती होटलहरू सञ्चालनका लागि स्वीकृति दिएको थियो। यो दफामा निकुञ्जभित्र होटल, रिसोर्ट खोल्नेलगायतका काम सो ऐनको उद्देश्यअनुरूप करार गरी गर्न सक्ने व्यवस्था छ। सरकारले त्यही व्यवस्थालाई टेकेर होटलहरूको म्याद थप्ने गरेको थियो।
२०६६ सालको असार मसान्तमा होटलहरूको म्याद सकिँदै थियो। संरक्षणमा असर पारेको भन्दै म्याद थप नगर्न सरकारमाथि चौतर्फी दबाब प¥यो। त्यो दबाबका कारण करिब ६ महिना सरकारले म्याद थपको निर्णय गर्नै सकेन।
पुसमा सरकारले सन् २०११ मा मनाउन लागेको पर्यटन वर्षलाई लक्षित गरेर अन्तिम पटक भन्दै २०६९ असार मसान्तसम्मका लागि म्याद थप गरिदियो। तर यो अवधिमा ती होटलहरू राम्ररी चल्न सकेनन्। निकुञ्ज बाहिरका होटल सञ्चालक, संरक्षणकर्मी देखि संसदीय समितिकोसमेत दबाब निकुञ्जभित्रका होटलहरुमाथि परिरह्यो। अन्ततः २०६९ सालमा सर्वोच्च अदालतले होटलहरू बन्द गर्ने आदेश नै दियो। चितवन निकुञ्जभित्रको टाइगर टप्स भने अहिले संग्रहालयजस्तो बनेको छ।
आदेशसँगै विदेशी पाउनाले भरिने गरेका निकुञ्जभित्रका होटलहरू बन्द भए।राप्ती नदीको तटीय क्षेत्रमा केही ठूला होटलहरु छन् । मेघौलीको आशा अहिले पनि तिनै होटलमा अल्झिएको छ । यी होटलहरु पनि नहुँदा हुन त मेघौलीको पर्यटकीय अस्तित्व नै रहने थिएन ।
निकुञ्जभित्रका होटल बन्द नभएको भए मेघौली अहिले सौराहासँग प्रतिस्पर्धा गरिहरेको हुन्थ्यो । टाइगर टप्स होटल बन्द भएपछि यहाँका स्थानीयको रोजगारीमात्रै गुमेन, स्थानीय उत्पादनले पनि राम्रो बजार पाएन । यसले आयआर्जनमा असर ग¥यो । हात्ती पोलो बन्द हुनु र विमानस्थल नचल्नुले मेघौलीलाई हेर्ने दृष्टिकोण नै बदलियो ।
मेघौलीमा ठूलो लगानीमा बनेका चौधरी समूहको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्डलाइफ रिसोर्ट, होटल सारङ्गा सञ्चालनमा छन् । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको सामीप्यतामा रहेको मेघौलीमा पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ । नारायणी र राप्ती नदीमा जलयात्रा गर्न रमाउने पर्यटकका लागि थारु र कुमाल संस्कृति थप खुराक हुन् ।
मेघौलीको पर्यटन माथि उठाउन सक्ने मुख्य पूर्वाधार ठानिएको मेघौली विमान स्थलमा विगत केही वर्षदेखि नियमित हवाईसेवा सञ्चालनमा छैन । मेघौलीमा हाल राइनो पार्क निर्माण हुँदैछ । भरतपुर वडा नम्बर–२७ र २८ मा मेघौली विमानस्थलसँगै जोडिएका चारवटा सामुदायिक वनक्षेत्रमा करिब ५५० बिघा क्षेत्रफलमा उक्त पार्क निर्माण हुन लागेको हो ।
बागमती प्रदेश सरकारले उत्कृष्ट पर्यटकीय क्षेत्र घोषणा गरेको चितवनको मेघौलीमा पछिल्लो समय होटल तथा रिसोर्टहरु थपिने क्रम तीव्र गतिमा भइरहेको छ । काठमाडौँमा रहेको होटल साङ्ग्रिलाले पनि यहाँ नयाँ होटल स्थापना गर्दैछ । लस्ट होराइजन रिसोर्ट एण्ड स्पा नाम दिइएको सो होटल ११ बिघामा फैलिएको वन र वन्यजन्तुमा आधारित रहेर ग्रीन होटलका रुपमा विकास गरिने छ ।
चौधरी ग्रुपअन्तर्गतको सिजी होटल्स एण्ड रिसोर्टले चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको जंगल सफारी रिसोर्ट‘मेघौली सेराई’राप्ती नदीकिनारमा सञ्चालनमा छ । मेघौलीमा ’बाराही जंगल लज’ रिसोर्ट सञ्चालनमा छ । साराङ वाइल्डलाइफ सेञ्चुरी रिसोर्ट सञ्चालन गरिएको छ, त्यसलगायत ३२ वटा साना–ठूला होटलहरु यहाँ सञ्चालनमा छन् । मेघौलीमा एकैपटक पाँच सय पर्यटक राख्न सकिने अवस्था छ ।
पश्चिम चितवनको मेघौलीमा पाँच सय बिघा क्षेत्रफलमा बन्न लागेको मेघौली राइनो पार्कको निर्माण कार्य धमाधम भइरहेको छ । यसले टाइगर टप्सको अभावलाई बिर्साउने अपेक्षा गर्न सकिन्छ । पार्कको मुख्य आकर्षण गैँडाको मूर्ति रहनेछ । त्यो बाहिरबाट एउटा देखिए पनि भित्रबाट भने तीन तलाको हुनेछ । २० फिट चौडाइ र ४० फिट लम्बाइको ३० फिट अग्लो मूर्ति बनाइने छ ।
पार्कमा बाघ आउने करिडोर पनि पर्ने भएकाले टाइगर टावर र चरा अवलोकन गर्ने भ्यू–टावर, २५ बिघामा ताल, ५० बिघामा घाँसे मैदान, टाइगर टावर, जंगल सफारी, असहाय वन्यजन्तु उद्धार केन्द्र, जैविक विविधता सूचना केन्द्र, अहिले भइरहेको थारु सङ्ग्रहालय, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, बेतरी खोलामा ५०० मिटरसम्मको डुङ्गा सयरलगायतका संरचना निर्माण हुनेछ ।
निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ पश्चिम चितवन हुन थालेको हो । अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैँडा कसराको पश्चिमतर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैँडासहित अन्य वन्यजन्तुको बासस्थान राम्रो छ । विशुद्ध जंगल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेका छन् ।
ि
नकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरूङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरबासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ ।
राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ । थारु संस्कृति पर्यटककै कारण जगेर्ना पनि हुँदै गएको छ । थारु संस्कृति नदेखाउने हो भने यहाँको पर्यटन व्यवसाय यतिधेरै माथि पुग्दैनथ्यो होला र पर्यटन क्षेत्रमा थारु संस्कृति नआएको भए यसको संरक्षण पनि यति धेरै हुँदैनथ्यो होला । पर्यटन व्यवसायमा आम्दानी हुने भएपछि थारु समुदायलाई संस्कृति जगेर्नामा अरु प्रोत्साहन मिलेको छ ।
पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारु संस्कृति र पर्यटन एकअर्काका पर्याय बन्दै आएका छन् ।मेघौली क्षेत्रमा थारु घरबास अर्थात होमस्टे सञ्चालनमा छन् ।थारु होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्रहालय बनेको छ ।
पर्यटकहरुलाई होमस्टेमा मौलिक भेषभूषासहित फूल र टीका लिएर थारु युवतीले पर्यटकलाई स्वागत गर्दछन् । स्वागत सत्कारले पर्यटकहरु खुशी हुन्छन् । होमस्टेमा पर्यटकहरुले हाँसको मासु, चिचर, घोँगी, माछा, निउरो, नुन खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद लिन पाउँछन् भने साँझमा देखाइने लठ्ठी नाच अर्थात स्टिक डान्स, झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्यले पर्यटकहरु दंग पर्दछन् ।
-रामशरण गैह्रे