रामशरण गैरे
गरीबीले छोरी मर्दा कोटले बेरेर अन्तेष्टि गरेका कार्ल मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन्। मानव जातिलाई तरंगित पार्ने दार्शनिक कार्ल माक्र्स हुन् ।द्वन्द्ववाद र भौतिकवादको पुर्नव्याख्या, मानव समाजको विकासका चरणहरूको वैज्ञानिक विभाजन, श्रमजीवी वर्ग र त्यसको संगठन र तागत, समाज रूपान्तरण र राज्य सञ्चालनमा श्रमजीवी वर्गको भूमिकाको व्याख्या गरेर माक्र्सले पूर्ववर्ती दार्शनिक तथा चिन्तकहरू छेउटुप्पासम्म नपुगेको विषयमा विचारको एक नयाँ क्षितिज उघारिदिए ।
मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो।सर्वहारा वर्गीय विश्व दृष्टिकोणको निर्माणमा उनले एंगेल्ससँग मिलेर लेखेका २ कृति ‘कम्युनिस्ट घोषणापत्र’ र दास क्यापिटल’को महत्त्वपूर्ण भूमिका छ । यी कृतिले एक समय संसारका केही देश र करोडौँ जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक असर पारे । रुसी क्रान्तिपछि सोभियत संघको उदय त्यसबेलाको एउटा उदाहरण थियो ।
कार्ल मार्क्ले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्, ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो।’ मार्क्सले तर्क दिएका छन्, ‘पूरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ, जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ, त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ।
अनि, राज्यविहीन, वर्गहीन साम्यवादी समाजको निर्माण हुनेछ।’मार्क्सको संक्षिप्त जीवनीकार्ल मार्क्सको जन्म जर्मनीको प्रसिया राज्यको लोअररिन प्रान्तको ट्रियर भन्ने ठाउँमा भएको हो। उनका पिता हेनरिक मार्क्स एक सफल वकिल थिए, जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए। उनकी आमाको जन्मथलो होल्याण्ड थियो, मातापिता दुवै यहुदी थिए।
तर, मार्क्स जन्मनुभन्दा एक वर्षअघि एउटा चर्चमा बख्ति लिएका थिए।मार्क्सले १९ जून १८४३ मा प्रसियाका ब्यापारीकी छोरी जेनी वोन वेस्ट फ्यालेनसित बिहे गरे। मार्क्स र जेनीका सात जना सन्तानहरु भए। तर, गरीबी कारण तीन जना मात्र जीवित रहे। मार्क्सको आयको प्रमुख श्रोत फ्रेडरिक एंगेल्सबाट पाएको सहयोग मात्र थियो। मार्क्सको परिवार चरम गरीबीमा थियो। तर, उनले आफ्नो लक्ष्यप्रतिको सङ्कल्प कहिल्यै भुलेनन्।कार्ल मार्क्स अत्यन्तै गरीब परिवारमा जन्मिएका चिन्तक थिए। उनकी पत्नी जेनी मार्क्स सम्पन्न परिवारमा जन्मिएर पनि जीवनपर्यन्त मार्क्सको गरीबीमा साथ दिइरहिन्। उनका अनन्य मित्र फ्रेडरिक एंगेल्स नै त्यस्ता व्यक्ति थिए, जसले मार्क्सका आधारभूत कुरा पूर्ति गर्थे।
मार्क्समा सम्पत्तिप्रति एक रत्ति पनि मोह थिएन। गरीबी र कुपोषणका कारण मार्क्सकी छोरीको मृत्यु भयो। उनको परिवारसँग कात्रो किन्ने पैसासमेत थिए। मार्क्सले आफ्नै कोटमा बेरेर छोरीको अन्तेष्टि गरेका थिए।डिसेम्वर १८८१ मा पत्नी जेनीको मृत्युपछि मार्क्स पनि बिरामी भए। यस कारण जिन्दगीका अन्तिम १५ महिना बिरामी अवस्थामा नै बिताए। १४ मार्च १९८३ का दिन मार्क्सको लण्डनमा निधन भयो। उनको परिवार र साथीभाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लण्डनमा नै गरे। मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ, ‘विश्वभरिमा श्रमिक एक होऔं।’
इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन्।मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ ।
मार्क्स भन्छन्, “मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन त्यो ‘इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति‘, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ ।
ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक बिषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका , राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ । इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र , एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘ अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज भने ।
यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे । त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘ ग्रुन्डरिसे‘ मा उल्लेख गरिएको पाइन्छ, जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउटा बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।
मानव इतिहासमा प्रमाणित भएको कुरा यो हो कि मार्क्सवादी दर्शनसँगै आएको परिवर्तनको लहरले ल्याएको तरङ्गमा मजदुरहरुको अधिकार स्थापित भयो । समाजवादी दर्शनद्वारा रुपान्तरित चेतनाले युरोपमा महिलाहरुको हकलाई स्थापित गरायो ।संसारभरिका परम्परावादी तथा धार्मिक शासकहरुसमेत वर्ग संघर्षको छालबाट आफ्नो शासन जोगाउने धुनमा अधिकतम प्रगतिशील सुधार गर्न बाध्य भए ।
त्यो पनि यही दर्शनको देन हो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो।राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका लागि साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो। शिक्षा, स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन मार्क्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादको आधारमा भएका क्रान्तिको अगुवाइमा भएका थिए ।
मार्क्सवादको दर्शन विकासमा पुरानो रणनीतिका मूलभूत सारबाहेकका तात्कालिक मान्यताहरुको समृद्धिकरण आवश्यक मात्र हैन असम्यभावी छ ।मानव चेतनाले समाज विकास र विज्ञानबीचको यथार्थ चित्र उतार्न सक्यो भने कुनै पनि दर्शन विकसित हुँदै जान्छ।संसारभरिका भौतिकवादी दार्शनिकहरु तथा २१ सौं शताब्दिका सबै बामपन्थी नेताहरुले आफूलाई विज्ञानमा नयाँ आविष्कारहरुले मारेको फड्को र त्यसको अनुकूल हुनेगरी दर्शनको विकास गर्न बहस कलाको विकास अहिले खड्केको समस्या हो।
धेरै वर्षदेखि मार्क्सवादको विकास रोकिएको छ । यो दर्शनको प्रयोगमा आएको अवरोधले मात्र दर्शनको विकास रोकिएको हो वा अन्य कारणले ? बहस समेत रोकिएको छ । त्यसैले मार्क्सवादले भौतिक विज्ञानको आधुनिक चरण, त्यसले समाज विकासमा पार्ने असर र अबका प्रमुख अन्तरविरोधहरूबारे बहस गर्न डरायो वा दर्शन विकासको नयाँ चरणबारेको बहसलाई पुरानो बाटोमा अल्मल्याइरह्यो भने मार्क्सवादको बाटो अवरुद्ध हुन्छ र यो दर्शनको पनि मृत्यु हुन्छ। त्यसैले चिनिया कम्युनिष्ट पार्टीका नेता तथा आधुनिक चीनका निर्माता माओत्सेतुङले भनेका छन्, “मार्क्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ ।
मार्क्सवादको मृत्युको अर्थ मार्क्सवादभन्दा उच्च कुनै दर्शनले त्यसको प्रतिस्थापना गर्नेछ।”अबको उत्कृष्ट आधुनिक राजनैतिक पूर्वाधारबारे बहस, अध्ययन,अनुसन्धान, क्रान्तिको कार्यदिशाको तय र व्यावहारिक प्रयोगमा ज्ञानको संश्लेषण आजको आवश्यकता हो। विज्ञानमा जस्तै सामाजिक नियमका पुराना व्याख्याहरुको आधारलाई भौतिक विज्ञानका नयाँ आविष्कारहरुले प्रतिस्थापन गर्दै नलाग्ने हो भने मार्क्सवादको विकास प्रक्रिया रुमलिन्छ र साम्राज्यवादले प्रविधि विकासलाई आफ्नो बचाउको कार्यमा लपेटिरहन्छ ।
मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ ।
आर्थिक सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण,राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्ति पछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन्। त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस ( डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिज्म), र इतिहास ( हिस्ट्री )को सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन । त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ,‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ ।
‘मार्क्सवाद, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘ मुक्ति प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास , तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति, समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे ।
मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिलाई डोर्याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ आफ्ना परिवेशमा आ आफ्ना व्याख्या विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो।परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो ।
समाजवाद कसरी लागु गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रुपमा फरकफरक थिए । किनकि पूर्णरूपमा विकसित पूंजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज –जसले नीति निर्माण , कार्यक्रम र विचार हुबहु सार्ने कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।
केही नवउदारवावी पूंजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पूंजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पूंजीमैत्री नभएकाले विकासमै नभएको आरोप लगाउन पनि चुकेनन्।तर , तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पूंजी सञ्चिति तथा पूंजी निर्माणसमेत अवरुद्ध हुन्छ ।
यसको अर्थ सम्पूर्ण बस्तु तथा सेवाको उत्पादन र पुनर्त्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुठ्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि?मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पूंजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् ।
मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पूर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाज कल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पूंजीवादीहरूले चाहेनन् ।
मfर्क्सवाद अल्पकालीन,मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पूंजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन्। त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पूंजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे । पूंजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियों । मार्क्सवादप्रति तिनको ईर्ष्या चुलिंदै गएको थियो ।
त्यसले मुट्ठीभर सामन्त तथा पूंजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पुर्यावन अहम् भूमिका खेलेको थियो । पूंजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झाँक्किनुपर्ने, यिनै कारण थिए। समाजवाद समापन हेर्न पूंजीवादीहरू सधै मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गरेका थिए। सन् १८४८ मा प्रकाशित मार्क्स र एङ्गेल्सको कृति ‘कम्युनिष्ट घोषणापत्र’ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो। यो कृति आजसम्म पनि मार्क्सको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ।
यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो। (१) सन् १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१) सम्म, (२) पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, (३) रुसी क्रान्तिपछिको अवधि। यसका साथै विश्वको एकतिहाई भू–भागमा वैज्ञानिक समाजवादी व्यवस्थाका साथ हसिँया हथौंडाको झण्डा फहरायो।पहिलो युग (१८४८–१८७१) – यसको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन।
समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो। त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग धेरै मिल्दाजुल्दा थिए – ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई ‘जनता’, ‘न्याय’ र अधिकारु जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्धारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो।सन् १८४८ को क्रान्तिले प्राग–मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो।
विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए। सन् १८४८ को जुनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ। कुनै पनि प्रतिक्रियावादी तत्त्वभन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ।काँतर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ।
मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस, वादविवाद, भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र बावविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो ।
डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो । डाइलेक्टिक (वादविवाद – बहस) को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पूंजीवादमा ढल्नुथ्यो , ढल्यो । त्यों शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पूंजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।
पूर्वी युरोप र सोभियत संघको विघटनपछि पूंजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७ / ९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८/९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट , यी श्रृंखला बद्ध संकटहरू एक अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका बेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्याय संसारव्यापी मन्दी ।
पूंजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पूंजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन् , तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन् , पूंजीवादमा प्रणालीगत संकट सिस्टमिक क्राइसिस आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर समाजवादले पुराना गल्तीहरू दोहोर्याउनुहुन्न ।
अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पूंजीवादविरुद्ध कुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो। बोलिभारान क्रान्तिको आधारमा हयुगो चाभेजले दर्शनिक स्तेभान मेजारोसको भिजनमा आधारित रहेर २१ औं शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे । अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया , इक्वेडर , अर्जेन्टिना, ब्राजिल उरुग्वेका श्रमजीवी कामदारहरुको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।
सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी यूरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पूंजीवादका स्वरूप र बिस्तारका बारेमा लेनिन ( इम्पेरियालिज्म अ हाइअर स्टेज अफ क्यापिटालिज्म ), रोजा लक्जेम्बर्ग, माइकल कोलेस्की , जुबान रॉबिन्सन (थ्यौरी अफ इम्यर्फेक्ट कम्पिटिसन ), पौल बरान, पौल स्विजी, हारी म्यागडफ आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।
ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्यूसिङ‘नामक किताबले हामीकहाँ चलेको दलाल पूंजीवादको बहसकों झल्को दिन्छ। उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौं समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको बिकासमा भिडेर लागिपरेका देखिन्छन् ।
हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले।नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन्। तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन। यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।
मार्क्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।
नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जन जाति माथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक, राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरण मार्फत? यी गम्भीर विषयहुन्।गफ र भाषणले मात्र समाजवाद आउँदैन ठोस परिस्थिति को ठोस विश्लेषण, परिवर्तनका लागि ठोस योजना,योजना कार्यान्वयनका लागि नयाँक्रियाशील र कामका जी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ ।
रुसको अक्टोबर क्रान्तिपछि सन् १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । यसको प्रभावले अल्बानिया, हँगेरी, चेकोस्लाभाकिया, पोल्याण्ड, युगोस्लाभियामा क्रान्ति भयो । अष्ट्रिया, हँगेरी, पोल्याण्ड, जर्मनी, लातभिया, लिथुनिया, इस्टोनिया, अर्जेन्टिना जस्ता देशमा सशक्त कम्युनिस्ट पार्टीहरू निर्माण भए । यीबाहेक दर्जनौँ देशका करोडौँ जनता कम्युनिस्ट पार्टीमा गोलबन्द भए ।
२०औँ शताब्दीमा समाजवादी खेमाले पुँजीवादी विश्वलाई थर्कमान बनाएको थियो । तर, जसरी मार्क्स/एंगेल्सले लेखेका थिए, त्यसरी मार्क्सवादको गोरेटो अघि बढ्न सकेन। कम्युनिस्ट पार्टीभित्रै हुर्किएका गैरकम्युनिस्ट चरित्रले कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशातिर लगे र पुँजीवादीहरूसँग आत्मसमर्पण गराए । अन्ततः समाजवादी खेमा शक्तिहीन र गतिहीन बन्न पुग्यो ।विश्वमा पुनः पुँजीवादी दबदबा कायम भयो । समाजवादी/साम्यवादीहरूको आन्दोलन आज कुहिरोको काग जस्तै रुमल्लिन पुगे पनि कार्ल मार्क्सका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक छन् ।
‘कम्युनिस्ट घोषणापत्र’ र आफ्ना लेखमा मार्क्सले पुँजीवादी समाजमा ‘वर्ग सङ्घर्ष’को कुरा गरेका छन् । उनले कसरी अन्ततः सङ्घर्षमा सर्वहारा वर्गले पूरै संसारमा बुर्जुवा वर्गलाई सत्ताबाट हटाएर समाजवादी/साम्यवादी राजनीतिक व्यवस्था स्थापना गर्छन् भन्नेबारेमा उल्लेख गरेका छन् ।
आफ्नो प्रसिद्ध पुस्तक ‘दास क्यापिटल’मा उनले आफ्ना यी विचारलाई तथ्यपरक र वैज्ञानिक तरिकाले विश्लेषण गरेका छन् । उनको प्रतिष्ठित जीवनी लेख्ने बेलायती लेखक फ्रान्सिस व्हिनले भनेका छन्, ‘मार्क्सले त्यो सर्वग्राही पुँजीवादका विरुद्ध दार्शनिक तरिकाले जुन तर्क अघि सारेका छन्, यसले पूरै मानव सभ्यतालाई आकर्षित गर्यो ।
’पुँजीवादी अर्थ व्यवस्थाका पिता एडम स्मिथको ‘वेल्थ अफ नेसन’को ठीक उल्टो कार्ल मार्क्सले बजारलाई चलाउनमा कुनै अदृश्य शक्तिको भूमिका नहुने स्पष्ट पारेका थिए । उनले त्यतिबेलै आर्थिक मन्दी बारम्बार आउने र यसको कारण पुँजीवादमा निहीत रहेको बताएका थिए । मार्क्सले पुँजीवाद पूर्ण रूपमा समाप्त नभएसम्म यस्तो अवस्था कायमै रहने उल्लेख गरेका थिए ।
सन् १०२९ मा शेयर बजार उच्च दरमा ओरालो लाग्यो । त्यसपछि २००७-०८ मा यस्तै झड्का व्यहोर्नुपर्यो । त्यसबेला संसारभरको अर्थ व्यवस्थामा अभूतपूर्व सङ्कट आयो । त्यो सङ्कटको धेरै उद्योगमा भन्दा वित्तीय क्षेत्रमा अधिक असर पर्यो । भावी दिनमा यस्ता सङ्कट पुनः आइपर्ने निश्चित छ ।
कार्ल मार्क्सको सिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको ‘अतिरिक्त मूल्यको सिद्धान्त’ हो । यो त्यो सिद्धान्त हो, जुन एक मजदुरले आफ्नो मजदुरीको मूल्यभन्दा थप मूल्य पैदा गर्छ । मार्क्सका अनुसार उत्पादनका साधनका मालिकले यो अतिरिक्त मूल्य लिन्छन् र सर्वहारा वर्गको मूल्यमाथि आफ्नो मुनाफालाई अधिकभन्दा अधिक बढाउनमा लाग्छन् ।
यसरी पुँजी केही स्थान र केही व्यक्तिको हातमा केन्द्रित हुन्छ र यसका कारण बेरोजगारी बढ्नुका साथै मजदुरीमा गिरावट आउँछ । यो अवस्था आज पनि विद्यमान छ । त्यसमाथि पनि उत्पादनमा मेसिनको प्रयोगले विश्वव्यापी रूपमा मजदुरमाथि थप सङ्कट आइलागेको छ र बेरोजगारी बढ्दै गएको छ ।
मार्क्सले भनेका छन्, ‘पुँजीवादले आफ्नो चिहान आफैँ खन्छ ।’ यो अचम्म लाग्न सक्छ किनकि मार्क्सको भनाइको उल्टो यतिबेला विश्वमा समाजवाद र साम्यवाद मरणासन्न अवस्थामा छ भने पुँजीवाद सर्वव्यापी बनेको छ । तर, यो क्षणिक हो ।मार्क्सले गरेको भविष्यवाणी भलै कतिपय समाजवादी/साम्यवादी खेमाभित्र लागू भएन । समाजवादी सत्ता चलाउनेहरूले गरेको गल्तीका कारण त्यहाँभित्र पुँजीवादी व्यवस्थामा जस्तै आर्थिक, सामाजिक विशृङ्खलता सिर्जना हुन पुग्यो । तर, मार्क्सले पुँजीवादी वैश्विक व्यवस्थाबारे गरेको आलोचनामा कुनै गल्ती गरेनन् ।
कम्युनिस्ट घोषणापत्रमा उनले पुँजीवादको वैश्वीकरण नै अन्तर्राष्ट्रिय अस्थिरताको मुख्य कारण बन्ने भविष्यवाणी गरेका छन् । २०औँ र २१औँ शताब्दीमा देखिएको विश्वव्यापी आर्थिक सङ्कटले उनको भविष्यवाणीलाई सही साबित गरेको छ । यही कारण हो भुमण्डलीकरणको समस्याबारे हाल रहेका बहसमा पटक पटक मार्क्सवादलाई उद्धृत गर्ने गरिन्छ । समाजशास्त्रमा ज्यादै प्रचलित रहेको ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित छ ।
ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व वैपरित्य सम्बन्धमा रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वंशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरू बनाएका छन्।
सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मक रूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेशहरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया कायम गर्ने मीठो सपना देख्दछन् र यी सबै हावाका महलहरू निर्माण गर्नका लागि उनीहरूलाई पूँजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ।
बिस्तार बिस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रियावादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाडित्य ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनीतिक आन्दोलनको उग्रविरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो।
कार्ल मार्क्सको दर्शनको सारमार्क्सको शिक्षाको प्रमुख सार हो – समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण।के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसकेपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीँ मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन्। वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तीहरू खोक्रो वकवाससिद्ध हुन्छन्। पेरिस कम्युन (१८७१) ले यी बुर्जुवा सुधारहरूको विकास खत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ।अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पूर्वनिर्धारित पूँजीवादी समाजमा पुग्छन्।
पहिलो युग (१८४८–१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग–मार्क्सकालीन समाजवाद मर्छ। सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४–१८७२) र जर्मन सोसल डेमोक्रेसी जन्मन्छन्।दोस्रो युग (सन् १८७२–१९०४) आफ्नो ‘शान्तिपूर्ण’ चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ।
पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए। पूर्व यस्ता क्रान्तिहरूका लागि अझ कलिलै थियो, पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नका लागि ‘शान्तिपूर्ण’ तयारी गर्दैछ। जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन्।
मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ। सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूका लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ। इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ। भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ।महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन्।
दासहरूको अवस्थामा सुधार ल्याउनका लागि पूँजीवादी दासताका विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन्। उनीहरू बडो कायरतापूर्वक सामाजिक शान्ति अर्थात् दास र मालिकहरूबीचको शान्ति कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ती दिन्छन्। समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र ‘सहानुभूतिकर्ता’ बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन्।
अझ अवसरवादीहरूले ‘सामाजिक शान्ति’ र ‘जनवाद’अन्तर्गत आँधीबेहरीको अनावश्यकताजस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंसा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ। रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ क्रान्तिहरू आइपुग्छन्। आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको ‘विपरीत प्रतिछाँया’को युगमा बाँचिरहेका छौं।
त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता ‘सभ्य’ हिंस्रक जनावरहरू आफ्ना दाह्रा किट्दैछन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पूरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून्।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पूँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन्। अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो।तेस्रो युग (सन् १९०४ पछि) – ८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शहरूका लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रा लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन्। यूरोप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ।एसियापछि यूरोपमा पनि हलचल सुरु हुन थालेको छ।
तर, यो एसियाली हलचल होइन। सन् १८७२–१९०४ को ‘शान्तिपूर्ण’ युग सदाको लागि खत्तम भइसकेको छ। महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षका लागि तत्पर हुन थालेका छन्। हाम्रै आँखाअगाडि जर्मनीजस्तो कट्टरू बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनीतिक सङ्कट पाक्न थालिसकेको छ।
बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो सामाजिक शान्तिू ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ। समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ।मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादका लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ। तर, विश्व कम्युनिष्ट आन्दोलनमा वैज्ञानिक समाजवादको स्थापनाका लागि नयाँ–नयाँ चुनौतिहरु सतहमा आएका छन्।
कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन सन् १८४८ मा भयो। यो सबैले जानेकै कुरा हो। त्यो घोषणापत्र तयारीको सन्दर्भमा कार्लमार्क्सले समाज विज्ञानको विशद् अध्ययन गर्नुभयो। छोटाछोटा निबन्धहरू पनि तयार गर्नुभयो। त्यही सन्दर्भमा सन् १८४७ मा उहाँले लेख्नुभएको छ, ‘हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन्।
यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन्। उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ। तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन। एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ सावित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्याउन सकून्।’
अर्थात, कार्ल मार्क्सको समयमा पनि थरीथरीका कम्युनिस्ट थिए। कम्युनिस्टहरू उतिबेला पनि सैद्धान्तिक, राजनीतिक बहस गर्थे। त्यो बहसमा कम्युनिस्ट पार्टीको सैद्धान्तिक, राजनीतिक, बैचारिक पाटोको सही परिचय दिन नै कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारियो। अहिले पनि संसारभरका मार्क्सवादीहरूका लागि त्यही घोषणापत्र आफ्नो परिचयको आधार भएको छ।त्यसैले नेपालको वाम आन्दोलनलाई पनि हामीले त्यही घोषणापत्रको आधारमा बुझ्नुपर्छ, व्याख्या गर्नुपर्छ र व्यवहार गर्नुपर्छ।
मार्क्सले कम्युनिस्टहरूलाई दुई खेमामा बाँडेका छन्। एउटा त्यस्तो खेमा, जो वैयक्तिक स्वतन्त्रताको विरोधी हुन्छ। त्यसका लागि व्यक्तिको हैसियत वस्तुको जस्तो हुन्छ। अर्को त्यस्तो खेमा, जो वैयक्तिक स्वतन्त्रको सम्मान गर्छ मात्र होइन, त्यसलाई सत्ता सञ्चालनको मूल आधार मान्छ। त्यति मात्र होइन, मार्क्सले सबैले बुझ्ने भाकामा लेख्नुभएको छ, ‘एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ सावित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पुर्याउन सकून्।’
मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीककरण गरे– यो सबैले बोल्ने लेख्ने गरेको भाका हो र सत्य पनि हो। एमालेले लोकतन्त्र, बहुलवादलाई स्वीकार गरेको हुनाले अब एमाले संशोधनवादी भयो भनेर त्यतिबेला होहल्ला मच्चाउनेहरूले अज्ञानी तर्क प्रस्तुत गरेका थिए। त्यो संशोधनवाद थिएन। त्यो थियो, मार्क्सवादको सही बुझाइ।
यही सन्दर्भमा नेपालमा जननेता मदन भण्डारीले १४ विशेषतासहितको जनताको बहुदलीय जनवादले फ्रान्सिस फुकुयामाको ‘उदारवादी मान्यता नै विश्वको अन्तिम सत्य’ भन्ने दाबीलाई कठोर चुनौती दिएर मनमोहन अधिकारी नेतृत्वको सरकार जनमतको जगमै बनाइदिएर संसारलाई देखाइदिएको थियो ।महाशक्ति राष्ट्रको एक महान विद्वानको जबरजस्त भाष्यलाई चुनौती दिएर नेपालमा गलत सावित गरिदिने जनताको बहुदलीय जनवाद र त्यसका प्रणेता जननेता मदनकुमार भण्डारी एक्काइशौं शताब्दीको ‘सफ्ट पावर’ भएको कुरा स्वतः पुष्टि हुन्छ ।
भारतको कोलकातामा जननेता भण्डारीले गरेको चर्चित भाषणले विश्वको ध्यानाकृष्ट गर्यो । संसारभरबाट आएका कम्युनिष्ट प्रतिनिधिहरुको आँखामा उहाँ पर्नुभयो । त्यस्तै सन् १९९१ मा अमेरिकाको चर्चित पत्रिका न्यूजविकमा छापिएको उनको अन्तर्वार्ताले विश्वभर नेपालमा कार्ल मार्क्स जीवित छन् भन्ने सन्देश प्रवाह भयो ।
मदन भण्डारीले नेपाललाई उदारवादी विश्व व्यवस्थामा पनि नेपाललाई मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने नव–मार्क्सवादीहरुको देश भनेर चिनाए। नेपालप्रति सारा विश्व जगतको ध्यान ताने ।नेपालमा कम्युनिष्ट विचारको विजारोपण राणाकालमा नै भएको भन्न सकिन्छ ।
मदन भण्डारी एकजना स्वप्न द्रष्टा राजनीतिज्ञ थिए । जुन कुरा पार्टीको सर्वोच्च पदमा निर्वाचित भएको छोटो समयमा उनले त्यो क्षमता पार्टीभित्र मात्र होइन, अन्य दलका नेता र आम जनताले समेत अनुभुत गर्ने गरी प्रदर्शन गरे । दुनियामा फेरिदै गरेको राजनीतिक अवस्थाको आंकलन गर्दै आन्दोलनको सुरक्षित भविष्य निर्माणको लागि स्थापनाकालदेखि स्थापित कार्यक्रम “नया जनवाद“को मुलत राजनीतिक पक्षलाई फरक धारवाट अगाडी बढाउने कामको नेतृत्व गरे।
फरक विचारलाई पनि आम मानिसको मन र मष्तिष्कलाई एकैपटक प्रभावित पार्ने गरी दृढतापुर्वक राख्नसक्ने क्षमता मदन भण्डारीले देखाए । सन् १९८९ मा सोभियत युनियनको विखण्डन र पुूर्वी युरोपमा समाजवादी व्यवस्थाको विघटन हुदै गर्दा झण्डै सात दशकदेखि चल्दै आएको कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा÷श्रमिक वर्गको नाममा सञ्चालन हुदै आएको राज्यसत्ता विघतन उन्मुख हुन थाल्यो । विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको यस घटनालाई समेत ध्यानमा राखेर त्यही वर्ष सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनवाट नेपालमा पनि स्थापनाकालदेखि पछ्याउदै आएको नयाँ जनवादी कार्यक्रमको परम्परागत वाटोवाट अगाडी बढ्न सम्भव छैन भन्ने सोचसहित बहुलतामा आधारित दलिय प्रतिष्पर्धामा जानुपर्ने कुरामा वहस शुरु भयो ।
राजनीतिक रुपमा संकटको डिलमा पुगेको विश्व कम्युनिष्ट आन्दोलनको त्यो परिवेसमा नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा रहेको नेकपा (माले) भने फरक विचार वोक्ने दलसंग समेत साझा उद्देश्यको लागि संयुक्त आन्दोलनको नीतिका आधारमा कार्यगत एकताको प्रस्ताव अगाडी सार्दै थियो ।
राजनीतिमा “स्थायी शत्रु र मित्रु हुदैन“ भन्ने कुरालाई व्यवहारमा स्थापित गर्दै मदन भण्डारीको नेतृत्वमा पञ्चायत इतर राजनीतिक शक्ति विचमा रहेको असामञ्जस्यताको अन्त्य गर्दै पञ्चायतको निरंकुशताको अन्त्यका लागि सात वामपन्थी दल विच वाममोर्चा गठन गर्दै नेपाली कंग्रेससंग समेत संयुक्त आन्दोलन अगाडी बढाउने प्रस्ताव अगाडी सार्यो ।
जसले बहुदलिय प्रजातन्त्र प्राप्तीको आधार तयार पार्यो र संयुक्त आन्दोलनका कारण तीन दशकदेखि प्रतिवन्धित अवस्थामा रहेका दलहरु निरंकुशताको अन्त्य गर्दै बहुदलिय राजनीतिक प्रणालीमा प्रवेस गरे । मदन भण्डारीले आजको नेपाल निर्माणका लागि दिनु भएको बुद्धीमत्तापुर्ण, साहसी र दिर्घकालिन महत्व राख्ने सवैभन्दा ठुलो योगदान यही हो, जसले गणतन्त्र नेपाल निर्माणको लागि अगाडी बढ्ने मार्गलाई फराकिलो बनाइ दियो ।
२०४६ सालको आन्दोलनवाट प्राप्त बहुदलिय व्यवस्थाको स्थापनापछि मदन भण्डारी नेपालीे राजनीतिको शिखर व्यक्तित्व थिए। जेलनेल र यातनाको गणनाको आधारमा राजनीतिक नेतृत्वको उचाइ मापन गरिने त्यस समय जीवनभर प्रहरी–प्रशासनको नजरवाट छलिद्र र जोगिदै जनताको विचमा राजनीतिक कर्ममा जुटेका र जनताकै विचवाट आफ्नो क्षमता स्थापित गर्न सफल मदन भण्डारी जनआन्दोलनपछि खुल्ला मैदानमा उत्रेका थिय।
कम्युनिष्ट राजनीतिलाई सर्वहारा श्रमजीवी वर्गको अधिनाकत्वको सोचवाट मुक्त गर्दै लोकतान्त्रिक प्रक्रियावाट व्यापक जनताको सहभागितामा अगाडी बढाउनु पर्ने विचारमाथि २०४६ सालमा सम्पन्न चौथो महाधिवेशनवाट औपचारिक रुपमा नीतिगत छलफल अगाडी बढ्दै गयो । विश्व कम्युनिष्ट आन्दोलनमा आएको उतार चढावका समयमा सही वाटो पहिल्याएर नया मोडवाट अगाडी बढ्ने काम अझै चुनौतीपुर्ण थियो । तर, संकटको त्यो घडीमा आवयक नेतृत्व दिन सक्ने क्षमता मदन भण्डारीले देखाउनु भयो ।
कतिपय आफ्नै सहकर्मीवाट समेत विरोध हुदै गर्दा समेत रत्तिभर विचलित नभै दृढतापुर्वक नया विचारलाई स्थापित गर्न मियोका रुपमा नेतृत्व गर्नुभएका मदन भण्डारीले नेकपा एमालेलाई सांगठनिक रुपमा जन–आधारित कार्यकर्ता पार्टीको रुपमा परिभाषित गरे । र, सिंगोपार्टी पंक्तीको मन जितेर एक्काइसौ शताव्दीको संघारमा आइपुगेको राजनीतिक नेतृत्व जनताको मन र मत दुवैवाट उत्कृष्ट सावित हुनुपर्छ भन्ने सोचलाई नीतिगत रुपमा स्थापित गर्ने वहसको निरन्तर नेतृत्व गरे । यसरी अगाडी बढेको विचारलाई स्थापित गर्दै २०४९ सालमा सम्पन्न पार्टीको पाचौ महाधिवेशनको मञ्चवाट अत्यधिक बहुमतसहित नेपाली क्रान्तिको कार्यक्रमको नाम “नया जनवाद“ वाट “जनताको बहुदलिय जनवाद“ मा रुपान्तरण गराउन सफल भय ।
मदन भण्डारीको यो योगदानले पूर्वी युरोपका देशहरु र सोभियत संघमा कम्युनिष्ट पार्टीको विघटनपछि कम्पास हराएको जहाज झै हुन पुगेको विश्व कम्युनिष्ट आन्दोलनको परिवेसमा नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियावाट अगाडी बढ्न सकिन्छ भन्ने नया दिशा प्रदान गर्यो । यही प्रक्रिया अगाडी बढ्दै गर्दा जनताको बलमा स्थापित बहुदलिय प्रणालीको विपक्षमा अलिअलि सलवलाउन थालेको दरवारलाई मदन भण्डारीले खुल्ला रुपमा श्रीपेच खोलेर प्रजातान्त्रिक प्रक्रियामा प्रतिष्पर्धा गर्न आउन दिनुभएको चुनौतीले नागरिक सर्वोच्चताको मान्यतालाई जनमानसमा स्थापित गर्ने पक्षमा जनताको मनोवललाई व्हात्तै बढाउने काममा ठुलो योगदान गरेको थियो ।
आजको नेपाल निर्माण र राज्यसत्ताको लोकतान्त्रिकरण मदन भण्डारीले पुर्याएको ठूलो योगदान हो । विश्व मानव समाजमा आधारभुत अधिकार । लोकतान्त्रिक मुल्यका रुपमा स्थापित मान्यताहरुलाई आत्मसात गर्दै एउटा व्यक्ति वा संस्थामा शक्ति केन्द्रीत गर्ने कुरा गलत हो भन्ने सोचका साथ शक्ति पृथकिकरणका आधारमा बहुलता र बहुदलियताका आधारमा हुने आवधिक निर्वाचनवाट निर्वाचित व्यवस्थापिका, बहुमत जनप्रतिनिधिवाट निर्मित कार्यपालिका र स्वतन्त्र न्यायपालिकाको सोच नै राज्यसत्ताको लोकतान्त्रिकरणको सन्दर्भमा जनताको बहुदलिय जनवाद (जवज) को मुल पक्ष थियो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई नया मोडवाट अगाडी बढाउन सक्यो ।
जसमा खास गरी विश्व कम्युनिष्ट आन्दोलनमा देखिदै आएको सर्वोच्च नेताले आजिवन सत्ता सञ्चालन गर्ने प्रबृत्तीलाई चुनौती दिदै आवधिक निर्वाचनवाट अनुमोदित राजनीतिक नेतृत्वले सरकार सञ्चालन गर्ने कुरा स्थापित गर्दै बहुमतको सरकार र अल्पमतको प्रतिपक्षको सोच अगाडी सार्यो । यही सोचका आधारमा स्थानियदेखि केन्द्रीय स्तरसम्म आवधिक निर्वाचनवाट अनुमोदित भएर मात्र जनतामाथि शासन गर्ने कुरा स्थापित भयो ।
केन्द्रीय तहमा निर्वाचनवाट सरकारमा पुगेर समाजवादको निर्माणका पक्षमा काम गर्न सकिन्छ भन्ने कुराको उदाहरण २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले ल्याएका लोककल्याणकारी नीति, कार्यक्रम र बजेट मार्फत जनतामा संप्रेषण गर्यो, जसलाई अहिलेसम्म कै सवैभन्दा जनपक्षिय सरकार र उसको नीतिको रुपमा लिने गरिन्छ ।
समाजको इकाइको रुपमा रहने परिवारदेखि समाज र समुदायका हरेक गतिविधिहरुमा सवै समुदायको समावेसी सहभागिता र निर्णय प्रक्रियामा पहुचको विकास गरिनु समाजको लोकतान्त्रिकरणको पक्ष हो । समाजको प्रभावकारी लोकतान्त्रिकरण विना राष्ट्रिय स्तरमा लोकतन्त्रको सही प्रयोग हुन सक्दैन । यही सोचका साथ जवजमा भनिएको छ– स्थानिय निकायहरुले नै आफ्नो क्षेत्रको विकास, निर्माण र प्रशासनको नेतृत्व र सञ्चालन गर्ने संवैधानिक व्यवस्था गरिनेछ र जवजको कार्यनीतिलाई व्यवस्थित रुपमा क्रमशः विकसित, समृद्ध र सुदृढ पारिनेछ
समाजको लोकतान्त्रिकरणको आधार भनेको स्थानिय सरकार हो । अधिकार स्थानिय तहमा मात्र होइन, व्यक्तिसम्म पुर्याउनुपर्दछ भन्दै मदन भण्डारीले २०४८ सालमा संसदमा वोल्दै भनेका थिय ‘स्थानीय निकायहरु भविष्यमा बिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरु हल गर्नका निम्ति आफैं स्वावलम्बी हुन सकून्, आफैं निर्णायक ढङ्गगले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढङ्गगले प्रयोग गर्न सक्ने बनून् भन्नका निम्ति स्थानीय तह÷निकायहरुलाई स्वायत्त शासनको निकायका रुपमा स्थापित गरिनुपर्दछ ।’ यही आसय अनुसारको स्थानिय सरकारको पहिलो पटक निर्वाचन सम्पन्न भएको छ । यसको व्यवस्थित र प्रभावकारी सञ्चालनवाट नै वास्तविक रुपमा समाजको लोकतान्त्रिकरण सम्भव हुन सक्दछ ।
लोकतान्त्रिक संस्कार र संस्कृति विनाको नेतृत्व जननिर्वाचित भए पनि व्यवहारमा लोकतान्त्रिक हुन सक्दैन । राज्यसत्ताको लोकतान्त्रिरणलाई प्रभावकारी बनाउने काम राजनीतिक कार्यकर्ताले गर्ने हो भन्ने कुरालाई आत्म सात गर्दै जवजमा भनिएकोछ– पार्टी संगठनभित्र सदस्यहरुले रुचाएका व्यक्तिले नेतृत्व गर्ने प्रणालीको विकास गरिनुपर्दछ । नेतृत्व पहलकदमी र प्रतिसपर्दावाट नै स्थापित हुनुपर्दछ । यसको लागि पार्टी संरचनामा पनि सघर्ष, सेवा, पहलकदमी र आन्तरिक प्रतिस्पर्धावाट स्थापित नेतृत्वले मात्र उक्त आवश्यकता पुरा गर्न सक्दछ ।
यसरी जवजले पार्टीको नेतृत्व विकासलाई पनि थप समावेसी, गतिसिल, प्रतिष्पर्धी बनाउने सन्दर्भमा प्रक्रियागत रुपमा नै श्रेष्ठता हासिल गर्दै अगाडी बढ्नुपर्ने नया मान्यता कुरामा स्थापित गरेकोछ । यो भावनालाई आज राज्यको संविधानले समेत स्विकार गर्दै राजनीतिक दलहरुभित्र पनि समावेसी सहभागिता हुनुपर्ने कुरालाई निर्देशित गरेकोछ ।
ऐतिहासिक रुपमा कम्युनिष्ट आन्दोलनको मुल आधार भनेको अर्थतन्त्रको सार्वजनिकीकरण हो, जसले नीजि सम्पत्तीको अन्त्य गर्दै सार्वजनिक स्वामित्वको कुरा गर्दछ । चिनिया क्रान्तिसंगै माओत्से तुंगले चिनिया सन्दर्भमा शुरु गरिएको मिश्रित अर्थतन्त्रको सोचलाई पछिल्लो चरणमा अरु विकास र विस्तार गरिएको थियो । नेपाली सन्दर्भमा पनि मिश्रिमत अर्थतन्त्रको प्रणालीलाई मुलुकको समृद्धी र जनतामा सुखको आधार सिर्जना गर्ने कार्यक्रमका रुपमा अरु मजवुत बनाउदै जवजले तीन खम्वे अर्थतन्त्रको नीतिलाई अगाडी सारेकोछ । यस अन्तरगत नागरिकका जीवनका आधारभुत आवश्यकतासंग जोडिएका पुर्वाधारको विकास, शिक्षा, स्वास्थ्य लगायतका विषय राज्यको नियन्त्रणमा हुनुपर्ने, अन्य उत्पादनका क्षेत्रलाई प्रगतिशिल करको नीतिसहित नीजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने कुरा उल्लेख छ ।
आम नागरिकसंग रहेका उपलव्ध सानो आकारको पुजीलाई संकलन गरी उनीहरुको पनि स्वामित्व रहने गरी सहकारी आन्दोलनलाई अगाडी बढाउनु पर्ने सोचलाई जवजले बढावा दिदै भनिएको छ– समाजमा बढ्दो वर्गिय असमानता, वसाइ सराइको समस्या, शहर र गाउ बीचको बढ्दो दुरी र केही सिमित क्षेत्रमा मात्र सुविधा र विकास गतिविधि केन्द्रीत गर्ने प्रबृत्तीको अन्त्य गरी जन आधारित अर्थतन्त्र निर्माण गर्दै विकासको लाभ उपेक्षित र आधारभुत वर्गका जनता वीच पुर्याउन स्थानिय विकासको माध्यमवाट देशलाई समग्र विकासको नमुनाको रुपमा अघि बढाइनेछ (जवज, पेज १०, २०४९) ।
परिणाम आज सहकारी आन्दोलन व्यापक रुपमा अगाडी बढेकोछ । यद्यपी यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र पुजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनाको क्षेत्रमा ध्यान दिनुपर्ने ज्वलन्त आवश्यकता बढ्दोछ । आज यो तीन खम्वे अर्थनीति जवजको मात्र विषय नभएर मुलुकको संविधानले नै निर्देशक सिद्धान्तको रुपमा स्विकार गरिसकेकोछ ।
नेपाली समाजमा रहेका विभेदका रुपहरु विश्व मानव समाजमा भन्दा फरक थिए र छन् । सामान्यतया विश्वभरको कम्युनिष्ट दर्शन आर्थिक न्यायको विषयलाई केन्द्रमा राखेर विकास भएको दर्शन हो । तर मानव समाज विकासको आधार आर्थिक पक्षका साथमा सामाजिक र सांस्कृतिक पक्षहरु पनि त्यत्तिकै महत्वपुर्ण छ । र, हाम्रो समाजमा सामाजिक र सास्कृतिक आधारमा हुने लैंगिक, जातिय र क्षेत्रिय विभेद समेत समानतामा आधारित समाज निर्माणका लागि वाधकका रुपमा रहदै आएको छ ।
यस सन्दर्भमा लैंगिक आधारमा रहेको विभेदको अन्त्यका लागि आर्थिक उत्पादनमा महिलाको सहभागितामा जोड दिदै आएको माक्र्सवादी दृष्टिकोणमा परिवर्तन गर्दै जवजले “राष्ट्रिय र सामाजिक जीवनका सवै क्षेत्रहरुमा महिला र पुरुष बीच पुर्ण समानताको ग्यारेण्टी गरिनेछ र राजनीतिक, आर्थिक, सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागितालाई बढाउदै लगिने छ“ भन्ने कुरा उल्लेख गर्दै सार्वजनिक क्षेत्रको उत्पादनको काममा महिला सहभागिता बृद्धी गर्ने मात्र नभएर घरपरिवार र समाजको काममा समेत महिला पुरुषको समान सहभागिता हुनुपर्ने कुरालाई समेटेकोछ ।
यसरी महिला मुक्तीका सन्दर्भमा रहदै आएको माक्र्सवादी महिलावादी दृष्टिकोणलाई जवजले समाजवादी महिलावादी दृष्टिकोणमा रुपान्तरण गरेकोछ । जुन कुरा आज नेपालको संविधानमा समेत एकहतसम्म प्रतिविम्वित हुन पुगेकोछ । यद्यपी यसलाई अझ सहज रुपमा वोधगम्य र व्यवहारजन्य बनाउने प्रक्रियामा थप मेहनतको आवश्यकता छ ।
त्यसैगरी जातिय आधारमा हुदै आएको विभेदको समुल अन्त्य गरिनुपर्ने कुरामा संस्कार र संस्कृतिमा रुपान्तरण हुनुपर्ने कुरामा जवजले जोड दिएकोछ । आज संवैधानिक रुपमा समेत जातिय आधारमा हुदै आएको विभेदको क्षतिपुर्तीसम्मको कुरा उल्लेख छ । हाम्रो भौगिोलिकताका कारण क्षेत्रिय आधारमा समेत कतिपय विभेदहरु कायम रहेको कुरालाई समेत ध्यान दिनुपर्ने कुरामा मदन भण्डारीको ध्यान गएको थियो ।
२०४७ सालमा बन्दै गरेको संविधान निर्माणको प्रक्रियामा मदन भण्डारीले पर्याप्त ध्यान दिनुकासाथै उपलव्धीलाई सस्ंथागत गर्ने काममा दुरदृष्टिकासाथ आफ्नो विवेकको प्रयोग गर्नुभएको थियो । जसका कारण वामपन्थी, नेपाली कंग्रेस र दरवारसहित तीनपक्षिय शक्ति सन्तुलनको दस्तावेजको रुपमा आएको संविधान घोषणा गर्ने सन्दर्भमा पार्टीको तर्फवाट २७ वटा बुदामा असहमती राख्दै आलोचनात्मक समर्थनको घोषणा गर्नुभएको थियो ।
त्यतिखेर “आलोचनात्मक समर्थन“ वाक्यांसलाई लामै समय धेरैले हासोको विषय बनाउने प्रयत्न समेत नगरिएको होइन । तर, कालान्तरमा त्यो कति दुरदृष्टिपुर्ण कदम थियो भन्ने कुरा २०६३ को आन्दोलनपछि जेठ ४, २०६३ मा गरिएको संसदको घोषणा, अन्तरिम संविधानमा समावेस गरिएका विषयहरु र अन्तत २०७२ मा घोषणा गरिएको नेपालको संविधानमा ति २७ बुदा समेटिनुले देखाएको छ ।
२०७२ मा हाम्रा जनप्रतिनिधिहरुको हस्ताक्षरसहित प्राप्त नया संविधानको प्रारम्भमा नै नेपाल समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने कुरा उल्लेख छ । यदि मदन भण्डारीको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने काम भएको थिएन भने सायद आज नेपाली जनताले समाजवादका आधारहरुसहितको नया संविधान प्राप्त गर्ने कुरा सम्भव थिएन । यसर्थ आधुनिक नेपाल निर्माणमा मदन भण्डारीको योगदानलाई अलग गरेर हेर्नै सकिदैन ।
कम्युनिस्ष्टहरु बहुलवादी खुल्ला समाजमा विश्वास गर्छन् । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट शासन सत्ताको बागडोर सम्हाल्न सक्छन् भन्ने मान्यतालाई नेता मदन भण्डारीे नेपालको सन्दर्भमा स्थापित गर्न सके । कम्युनिस्ष्टलाई लोकतान्त्रिकीकरण गर्ने सेरोफेरोको जनताको बहुदलीय जनवाद (जवज)लाई मार्ग दर्शन सिद्धान्तको रुपमा प्रतिपादन गरेका मदनको नेपालमा प्रजातान्त्रिक तथा कम्युनिस्ष्ट आन्दोलनलाई सफल बनाउन योगदान छ ।
संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली मदनले प्रतिपादन गरेको जवजको मुख्य विशेषता हो ।आवधिक निर्वाचन, बहुमतको सरकार र संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, वैदेशिक पुंजी र प्रविधिको उपयोग, क्षतिपुर्तीको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदुढीकरणको सवाललाई मुख्य विशेषतामा समेटिएको छ । जसले नेपालको राजनीतिमा महत्वपूर्ण र दुरगामी असर पारेको छ ।
मदनले प्रतिपादन गरेको विचारलाई नेपालका कम्युनिस्ट पार्टीहरुले अंगालेका छन् । त्यसैले मदनलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक गर्ने र नेपालको आधुनिक कम्युनिस्ट राजनीतिका सिन्द्धान्तकारको रुपमा सबैले स्वीकार गरेका छन् । अहिले धेरै राजनीतिक दलहरु जवजलाई मार्ग दर्शक सिद्धान्त मानेर अघि बढेका छन् । मदनले छोटो समयमा कोरेको राजनीतिक रेखाको आधारमा नेपालका कम्युनिस्ट पार्टी चलेका छन् ।
मदन भण्डारीले माक्र्सवादमाथि भएका जडसूत्रवादी र विसर्जनवादी हमलाको समीक्षा, माक्र्सवाद आफैले समयको कसीमा घोटिनुपर्ने अपरिहार्यता र यसको रचनात्मक प्रयोग र विकास गर्ने संस्कृतिको जग बसाले । त्यस अघिसम्म समाजवादको प्रयोगका दौरानमा भएका गल्तीलाई निरन्तरता दिनुलाई नै क्रान्तकारीता ठान्ने, सुधारका प्रयासलाई संशोधनवादको घानमा हाल्ने, सुधार चाहने तप्का आफँै कम्युनिस्ट वृत्तबाटै बिटुलिने सिलसिला चलेको थियो ।
कठमुल्लावाद र विसर्जनवादरूपी दुई राक्षसको आक्रमण माक्र्सवादलाई बचाएर भण्डारी चिन्तकहरूको महाकुम्भमा तेजिलो प्रकाशपुञ्ज बनेकामा सायद कसैको विमति नरहला । शासन सत्ता प्राप्तिको बाटो निरपेक्ष हुँदैन भनेर सशस्त्र वा निशस्त्र संघर्षको महाविवादबाट कम्युनिस्ट पार्टीलाई जोगाउनु, संसद् पुँजीवादीहरूको मात्र बपौती होइन मानव जातिले हासिल गरेको साझा उपलब्धि हो भनेर माक्र्सवादको अपूूर्णताको पुरताल गर्नु, कम्युनिस्ट पार्टीले क्रान्तिपूर्व पनि जनताको अभिमत पाएर शासन सञ्चालन गर्न सक्छ भनेर समाजवादी अर्थतन्त्रभन्दा तल नओर्लेर कट्टरतामा जकडिएका कम्युनिस्ट हरूलाई मिश्रित अर्थतन्त्र अर्थात् केही हदसम्म पुँजीवादी अर्थतन्त्रको पक्षमा उभ्याउनु जवजका युगान्तकारी देन हुन् ।
मानव अधिकारको सम्मान, बहुलवादको अनिवार्यता, आवधिक निर्वाचन, जनताको जनवादी अधिनायकत्व, कम्युनिस्ट पार्टी र यसका नेता र कार्यकर्ता जनताको परीक्षणको विषय हुनुपर्ने प्रस्थापना, वर्ग रहेसम्म वर्गीय राजनीति दलहरूको वैधानिक हैसियत र प्रतिस्पर्धाको सुनिश्चितता, समाजवादमा संक्रमणसम्म कम्युनिस्ट पार्टी र लोककल्याणकारी राज्यले वहन गर्नुपर्ने कार्यभारको चरण विभाजनजस्ता सझबुझहरू अन्तर्निहित रहेकाले जनताको बहुदलीय जनवाद नै आजको माक्र्सवाद हो ।
नेपालमा मदन भण्डारी सबैभन्दा माथि हुनुको कारण पनि यही हो। मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीककरण गरे– यो सबैले बोल्ने लेख्ने गरेको भाका हो र सत्य पनि हो। एमालेले लोकतन्त्र, बहुलवादलाई स्वीकार गरेको हुनाले अब एमाले संशोधनवादी भयो भनेर त्यतिबेला होहल्ला मच्चाउनेहरूले अज्ञानी तर्क प्रस्तुत गरेका थिए। त्यो संशोधनवाद थिएन। त्यो थियो, मार्क्सवादको सही बुझाइ।
नेपाली वाम अथवा कम्युनिस्ट राजनीतिमा मदन भण्डारीले नै पहिलो पटक मार्क्सवादलाई सही रूपमा अभ्यास गर्ने काम आरम्भ गरेका थिय। त्यसैले उनले प्रष्टताका साथ भन्न सकेका थिय– ‘जनतालाई काम नलाग्ने सिद्धान्त पार्टीलाई पनि काम लाग्दैन।’ अथवा ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ।’ यो सिद्धान्त स्वयं मार्क्सवादप्रति पनि लक्षित छ। सामाजिक विविधताका कारण मार्क्सवाद विश्वका सबै मुलुकमा जस्ताको तस्तै लागू हुँदैन। देश, काल, परिस्थितिअनुसार त्यसको प्रयोग हुन्छ। मार्क्सवादको साझा आधार भनेको समाजवाद हुँदै साम्यवादसम्म जानु हो।
सफ्ट पावर बल प्रयोग, सैन्य प्रभाव, जबरजस्ती वा हिंसाको प्रयोगविना नै आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य-मान्यता, प्रभावशाली संस्थाहरू, अनुकरणीय नीतिहरू आदि कुराको माध्यमबाट अन्य व्यक्ति, समूह, समाज र देशहरुलाई प्रभावमा पारेर आफ्नो निकाय, संस्था वा राष्ट्रलाई स्थापित गरिन्छ भने त्यो ‘सफ्ट पावर’ हो । सफ्ट पावरमा सैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र विस्फोट, मानिसहरुमाथि दमन र हिंसा र राष्ट्रहरुमाथि दबाब र आक्रमण आदि हुँदैन ।
जब राज्य आफ्नो मूल्य मान्यता र अभ्यास प्रयोग गरेर अरूलाई इमानदारीपूर्वक आकर्षित गर्न र विश्वस्त गर्न सक्षम हुन्छ, तब देशलाई प्रभावकारी ‘सफ्ट पावर’ भएको भनेर मानिन्छ । नेपालको ‘सफ्ट पावर’ को आयामबारे त्यति धेरै चर्चा हुने गरेको देखिँदैन । नेपाल सरकारले पनि ‘सफ्ट पावर’ को विकासमा कार्य गरेको देखिँदैन । सैन्य र आर्थिक शक्तिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न कठिन हुने अवस्थामा एउटा सुन्दर बाटो भनेको ‘सफ्ट पावर’ को विकास नै हो ।
परिवर्तनको यो जगमा मानव सभ्यता क्रमिकरुपमा विकसित हुँदै यहासम्म आइपुगेको छ । विभेदरहित तथा न्यायपूर्ण समाजको स्थापना र यसको दिगोपनको निम्ति विभिन्न सिद्धान्तहरु प्रतिपादन हुदै आएका छन् । वास्तवमा समाज कस्तो बनाउने ? सुखमय जीवन र समृद्धि कसरी प्राप्त गर्ने ? जीवन र जगतको अस्थित्व, संरचना र गतिशीलता के हो ? इत्यादि प्रश्नहरुको हल खोज्न निरन्तर बहसहरु भैरहेका छन् ।
विश्व कम्युनिष्ट आन्दोलन जडता र दिशाहिनताबाट गुज्रदै रक्षात्मक अवस्था पुग्यो । ’इतिहासको अन्त्य र विचारको मृत्यु’ जस्ता भविष्यवाणी गरी मार्क्सवादको सान्दर्भिकता तथा समाजवादको भविष्य माथि पूँजीपति वर्गले ठूलो आक्रमण गर्यो । यस्तो परिस्थितिमा असफलताका कारणहरुको खोजी गरी क्रान्ति र समाजवादको नयाँ बाटो दिशावोध गर्दै मार्क्सवादको सार्वभौम सच्चाइ र समाजवादको अपरिहार्यता माथि दृढ विश्वास कायम गर्नु आवश्यक हुन गयो । विश्व कम्युनिष्ट आन्दोलनमा कार्यनीतिका सन्दर्भमा देखा परेका अन्यौलपूर्ण अवस्थाको बारेमा समयसापेक्ष समाधान निकाल्दै शान्तिपूर्णरुपले पनि समाजको आमूल परिवर्तन गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विचार स्थापित गर्नु नितान्त आवश्यक भयो ।
नेपालको कम्युनिष्ट आन्दोलन भित्र मार्क्सवादलाई जडसूत्रको रुपमा ग्रहण गर्ने, अन्य देशहरुमा भएका क्रान्तिका विशिष्ट अनुभवहरुलाई यान्त्रिक रुपमा ग्रहण गर्ने, ’बन्दुकको नालबाट मात्र सत्ता प्राप्ती हुन्छ’ भन्ने मान्यता राख्ने र एकदलीय अधिनायकवादी शासन व्यवस्थाको वकालत गर्ने मानसिकता विद्यमान रहेको र यस्तो विचारले आन्दोलन विभाजित भैरहेको अवस्थामा मार्क्सवादी सिद्धान्त जडसुत्र होइन, यो समाजको वस्तुगत अवस्थाको ठोस विश्लेषणबाट निकालिएको सार्वभौम सच्चाइ हो भन्ने कुरालाई स्थापित गर्दै नेपाली समाजमा भैरहेका संघर्षहरु, जनताका भोगाइहरु, जनताको वस्तुगत अवस्था, भूगोल र संस्कृतिको विविधता इत्यादिको सूक्ष्म अध्ययनबाट नेपाली समाजमा विद्यमान समस्याहरुको पहिचान र तिनिहरुको समाधानका विकल्पहरुको खोजी गरी कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो ।
नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका विशिष्ट अनुभवहरु मध्ये विशेषगरी संयुक्त वाममोर्चा निर्माण र नेपाली कांग्रेससंगको कार्यगत एकताबाट छयालिस सालको ऐतिहासिक जनआन्दोलनले सफलता हासिल गर्यो । वाममोर्चा र नेपाली कांग्रेसको सहकार्यमा नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण भयो । साझा लक्ष प्राप्त गर्न निर्माण गरिएको संयुक्त बाममोर्चा तथा नेपाली कंग्रेससंगको कार्यगत एकता वस्तुसंगत थियो र यसबाट महत्वपूर्ण राजनीतिक उपलव्धिहरु प्राप्त भएका छन् ।
त्यसैगरी संविधान निर्माण पछि पार्टीलाई अन्य राजनीतिक पार्टीहरूसित प्रतिस्पर्धी बनाउने गरी खुला र बैधानिक ढंगले जनतासित प्रत्यक्ष सम्वन्ध राख्दै निर्माण र संचालन गर्नु महत्वपूर्ण निर्णय थियो । यो कार्यनीतिको आधारमा पहिलो संसदीय निर्वाचनमा नेपाली जनताको लोकप्रिय समर्थनका साथ नेकपा(एमाले) प्रमुख प्रतिपक्ष बन्न सफल भएको थियो ।
नेपाली समाजको वहुजातीय, वहुभाषिक, वहुसांस्कृति विशेषता र भौगोलिक विविधताको कारणले निर्माण भएका अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरुको पृष्ठभूमिमा मार्क्सवादलाई सृजनात्मकढंगले प्रयोग गर्न उपयुक्त नीति र विधि परिभाषित गर्नु पर्ने थियो । यी सबै परिप्रेक्षमा न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्न मार्क्सवादले दिशावोध गरेको सार्वभौम सच्चाइलाई नयाँ उचाइमा परिभाषित गर्दै समृद्ध गर्नु जरुरी थियो । जनताको वहुदलीय जनवादको विकासको पृष्ठभूमि यहि हो ।
मार्क्सवादका सार्वभौम सच्चाईहरुलाई नेपाली क्रान्तिको विशिष्ट व्यवहारमा लागु गर्ने क्रममा जनताको वहुदलीय जनवादको विकास भएको हो । जनताको वहुदलीय जनवाद (जवज) नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो ।
यो नेपाली समाजको गुणात्मक रुपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमको निरुपण, त्यसका रणनीतिहरुको तर्जुमा, त्यस्तो रणनीतिहरुको कार्यान्वयन गर्न गतिशील पार्टीको निर्माण एवम् पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनन्दिनका आचरण र व्यवहारलाई दिशा निर्देश गर्ने सिद्धान्त हो । जनताको बहुदलीय जनवाद मार्क्सवाद–लेनिनवादको सृजनात्मक प्रयोग र विकास हो । जनताको वहुदलीय जनवादका महत्वपूर्ण सैद्धान्तिक आधारहरु निम्नानुसार सुत्रवद्ध गरिएको छ ।