चितवन, पुस ९–आगामि माघ १५ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि चितवनबाट अर्किड कलेज छनोट भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा दुई दिनसम्म चलेको छनोट प्रतियोगितामा उपाधि जित्दै अर्किडले काठमाडौं यात्रा तय गरेको हो । उपाधिसंगै अर्किडले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । विजेता अर्किडलाई चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया, सदस्य महादिप श्रेष्ठ, इ–प्लानेट चितवनका प्रमुख विमल अधिकारीले विजेता टिम अर्किडलाई ट्रफी र नगद पुरस्कार प्रदान गरे ।
आज (मंगलबार) भएको फाइनल खेलमा अर्किडले सनराइज इङलिस स्कुललाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो । १० ओभरको खेलमा पहिलो ब्याटिङ गरेको अर्किडले ९ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सनराइज ७ विकेटको क्षतिमा ६१ रन मात्रै बनाउन सक्यो ।
सोमबार देखि भएको छनोट प्रतियोगितामा चितवनका ८ विद्यालय सहभागि भएका थिए । सेमीफाइनलमा अर्किडले वाल्मीकि शिक्षा सदनलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने सनराइजले न्यू क्यापिटल कलेज रत्ननगरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । छनोट प्रतियोगितामा अर्किड कलेज, डेजी इङलिस स्कुल खैरहनी, नारायणी नमुना मावि, वाल्मीकि शिक्षा सदन, स्मल हेभन इङलिस स्कुल, न्यू क्यापिटल कलेज, सनराइज इङलिस स्कुल र अंकुरम एकेडेमीले सहभागिता जनाएका थिए ।
इ–प्लानेटले चितवनसंगै सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गर्दैछ । प्रत्येक प्रदेशबाट छनोट भएका एक टिम र चितवनको एक टिम गरी ८ टिमले माघ १५, १६ र १७ गते मुलपानीमा हुने टि–२० प्रतिस्पर्धामा सहभागिता जनाउने इ–प्लानेटका मार्केटिङ चिफ सन्जीव भण्डारीले जानकारी दिए । बागमती प्रदेशबाट चितवन र काठमाडौंँमा छनोट प्रतियोगिता राखिएको हो । चितवनबाट सुरु भएको छनोट प्रतियोगिता अब इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौंँमा हुनेछ भण्डारीले बताए । प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।