सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट नगलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको को १५ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका प्रबन्धक दिप घर्तीले प्रबन्धकको प्रतिवेदन र लेखा समिति संयोजक लाल प्रसाद पुनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले विभिन्न सहकारीहरुले आफ्नो संस्थाको बदनाम हुने कार्यहरु गर्दै आइरहेको बताउदै आफ्नो गाउँ–ठाउँमा रहेको सहकारी प्रति कुनै शंका उपशंका नगरी ढुक्क भएर बचत गर्न बचतकर्ता एवं शेयर सदस्यहरुलाइ आग्रह गर्नु भएको थियो । ४ सय ८ जना शेयर सदस्य र बाल बचतकर्ता, दैनिक बचतकर्ता, मासिक बचतकर्ता र वार्षिक बचतकर्ता गरि गरि २ हजार माथि बचतकर्ता रहेको सहकारीको कुल शेयर पुँजी १ करोड २६ लाख ६७ हजार रहेको र संस्थाको ८९ लाख ८५ हजार ८ सय आम्दानीसंगै १९ लाख ५५ हजार ६ सय मुनाफा रहेको सहकारीका प्रबन्धक दिप घर्तीले जानकारी दिनुभयो ।
कार्यक्रममा गलकोट नगर कार्यपालिका सदस्य राम प्रसाद बिक, महिला जागरण केन्द्र पाण्डवखानीका अध्यक्ष राधिका पुन, घुम्टे बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्रकुमारी श्रीस, पाण्डवखानी माध्यामिक विद्यालयका शिक्षक प्रकाश पुन, समाजसेवि मानसिंह छन्त्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रमको अवसरमा असल ऋणी, उत्कृष्ट बतचकर्तालाई सम्मान तथा सुत्केरी भत्ता समेत प्रदान गरिएको थियो । त्यस्तै ५ औं अधिवेशनले लाल प्रसाद पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा खिम काउचा, सचिवमा रामु शाही, सह–सचिवमा सुरेश पुन (छन्त्याल) र कोषाध्यक्षमा राजकुमारी पुन रहनुभएको छ । त्यस्तै गिरी प्रसाद घर्तीको संयोजक रहने गरी लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा धना छन्त्याल र राधिका श्रीस रहनुभएको छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष ङङ्ग काउचाको अध्यक्षता, प्रबन्धक दिप घर्तीको स्वागत र सचिव खिम काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।