नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेल आज धनगढी एफसी र एफसी चितवनबीच हुँदैछ। यस खेलको नतिजाले प्लेअफ पुग्ने अन्तिम चौथो टोलीको टुंगो लाग्नेछ, जसले गर्दा यो खेल निकै प्रतिक्षित बनेको छ।
पहिले नै धनगढी, ललितपुर सिटी र पोखरा थण्डर्स प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। अहिले चितवन पाँचौं स्थानमा ५ खेलबाट ७ अंकसहित छ भने काठमाडौं रेजर्स ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ। चितवनका लागि प्लेअफ पुग्न आजको खेलमा जित वा बराबरी आवश्यक छ। जिते चितवन तेस्रो स्थानमै पुग्नेछ भने बराबरी भए काठमाडौंसँग अंक बराबरी हुनेछ, तर गोल अन्तरमा चितवन अघि रहने भएकाले प्लेअफमा स्थान बनाउनेछ।
काठमाडौं रेजर्सको प्लेअफ सम्भावना भने चितवन धनगढीसँग पराजित भए मात्र बाँकी रहनेछ। यस पटक दुई टिमको अंक बराबरी भएमा गोल अन्तर हेर्ने प्रावधान छ। पोखरा थण्डर्सले गोल अन्तरमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा स्थान बनाइसकेको छ; पोखराको गोल अन्तर प्लस १, काठमाडौंको माइनस १ र चितवनको गोल अन्तर शून्य छ।
धनगढीको लागि आजको खेल लिगको शीर्ष स्थान जोगाउन महत्त्वपूर्ण छ, तर हार्दा पनि उनीहरूको प्लेअफ यात्रा सुनिश्चित छ। चितवनको जित वा बराबरीले काठमाडौंको यात्रा अन्त्य हुनेछ भने चितवनको ऐतिहासिक प्लेअफ यात्रा तय हुनेछ।