काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा प्रत्यक्ष सम्बोधन गर्ने भएका छन्। संसद् अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्दै हालै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे स्पष्टिकरण दिने सहमति भएको हो।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका थिए। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टिकरण दिनुपर्ने माग गर्दै आएका थिए, जबकि सरकारले सम्बन्धित मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने प्रस्ताव गरेको थियो।
शुक्रबार सभामुख देवराज घिमिरे, सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूबीच भएको छलफलपछि प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्ने सहमति बनेको छ। यससँगै आइतबारदेखि संसद् सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
संसद् बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि संसद् गतिरोध अन्त्य हुने र बजेट अधिवेशनको कार्यसूची अगाडि बढ्ने अनुमान गरिएको छ। सरकारलाई राष्ट्रिय सभा हुँदै पाँच वटा प्रतिस्थापन विधेयक पारित गराउनुपर्ने दबाब पनि छ।

