पर्साको सानोपाइला बचत सहकारीमा ठगी र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३० व्यक्ति र ११ संस्था/कम्पनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। प्रहरीको प्रतिवेदनमा सहकारीको २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरिएको छ। यसमध्ये रवि लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो माग गरिएको छ।
यो प्रकरणमा लामिछानेसहितका प्रतिवादीमाथि सहकारीको रकम अपचलन, ठगी र संगठित अपराधका अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो। यसअघि पनि लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रूपन्देही, चितवनलगायत जिल्लाका विभिन्न सहकारी ठगी प्रकरणमा मुद्दा दायर भइसकेको छ, जहाँ विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया लगायत कम्पनीमा लगिएको ठहर प्रहरी र संसदीय छानबिन समितिले गरेका छन्।
पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि लामिछानेसहितका प्रतिवादीले सहकारीको रकम अनियमित रूपमा प्रयोग गरेको, विभिन्न कम्पनी र व्यक्तिको नाममा गैरकानुनी रूपमा ऋण प्रवाह गरेको, बचतकर्ताको रकम ठगी गरेको आरोप छ। यसै आधारमा लामिछानेमाथि ५ करोडभन्दा बढी बिगो माग गरिएको हो।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले पनि लामिछाने कार्यकारी भूमिकामा रहेका बेला सहकारीको रकम गोर्खा मिडिया लगायत कम्पनीमा परिचालन भएको देखिएको र कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ।
यस प्रकरणमा अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययनपछि अदालतमा अभियोगपत्र पेस गर्नेछ, जसपछि थुनछेक बहस र आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ।

