काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्। शनिबार बिहान कान्तिपुर मिडिया ग्रुपका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्नु गलत भएको बताए।
प्रधानमन्त्री ओलीले विरोध गर्दा आधार चाहिने भन्दै भने, “गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन।” उनले पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको थियो तर अहिले त्यस्तो अवस्था नभएको स्पष्ट पारे। “अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन,” उनले भने।
प्रधानमन्त्रीले बच्चाहरूले झोला वा खेलौना हात्ति किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिने उदाहरण दिँदै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने स्पष्ट पारे। उनले कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकांक्षा र ध्रुवीकरणहरू हुन सक्ने भए पनि “घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न” आग्रह गरे।
संसदमा प्रस्तुत बजेटका सन्दर्भमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले आएको बताए। “हामीलाई त्यसै पपुलिष्ट हुनु छैन। राम्रा काम गर्नुछ। यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो,” उनले भने। गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको र माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको उल्लेख गर्दै उनले आफ्नो सरकारले त्यस्तो नगर्ने बताए।

