नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको शानदार जित हात पारेको छ। बुधबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा आरिफ शेखले ७८ रनको महत्वपूर्ण अर्धशतक बनाए, जसमा उनले सात चौका र दुई छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले ३८ रन, कुशल भुर्तेलले २५, आसिफ शेखले १९, भीम सार्कीले ११, कप्तान रोहित पौडेलले २३ र गुल्सन झाले ११ रन जोडे। नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। नेदरल्यान्ड्सका नोह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ४६, विक्रमजित सिंहले ३८, च्याच लायनले २७, रोइलोफ भान डेर मेर्वेले २१ र तेजा निदामानुरुले १३ रनको योगदान गरे। नेपालका सोमपाल कामीले तीन विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई–दुई विकेट लिए।
यो जितसँगै नेपालले लिग–२ मा आफ्नो अभियानलाई मजबुत बनाएको छ।