अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा दुई बालबालिकासहित चार नेपाली गोली लागेको अवस्थामा मृत फेला परेका छन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू सबै नेपाली मूलका हुन् भने, एकै परिवारका सदस्य हुन् कि होइनन् भन्ने विषयमा प्रहरीले पुष्टि गरिसकेको छैन।
प्रहरीका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको तल्लो तलामा प्रवेश गर्दा चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारिएको हो। घटनास्थलबाट एक थान बन्दुक बरामद गरिएको छ।
म्यानेसस पार्क प्रहरी विभागले प्रारम्भिक अनुसन्धानमा यो घटना हत्या–आत्महत्या भएको आशंका गरिएको जनाएको छ। सबै शवहरूलाई पोस्टमार्टमका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र कसले गोली चलाएको भन्ने विषयमा हालसम्म खुलाइएको छैन।
छिमेकीहरूका अनुसार, मृतकहरू करिब छ महिनाअघि नेपालबाट अमेरिका आएका थिए र सोही घरको तल्लो तलामा बस्दै आएका थिए। घटनापछि स्थानीय नेपाली तथा अमेरिकी समुदायमा शोकको वातावरण छ। म्यानेसस पार्क सिटी स्कूल्सले मृतक ८ वर्षीया बालिका आफ्नै विद्यालयकी विद्यार्थी भएको पुष्टि गर्दै विद्यार्थी, अभिभावक र समुदायलाई भावनात्मक सहयोग र परामर्श उपलब्ध गराउने जनाएको छ।
प्रहरीले घटना हत्या हो वा आत्महत्या भन्नेबारे थप अनुसन्धान भइरहेको जनाएको छ।