क्यानडा, १७ जुन – क्यानडाको अल्बर्टा प्रान्तको क्यानानास्किसमा विश्वका सात ठूला लोकतान्त्रिक राष्ट्रहरूको समूह जी–७ को ५१औं शिखर सम्मेलन भव्य रूपमा सुरु भएको छ। सम्मेलनमा क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापानका राष्ट्रप्रमुख तथा युरोपेली संघका प्रतिनिधिहरू सहभागी छन्। यसपटक भारत, मेक्सिको, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण कोरिया, ब्राजिल र नाटो प्रमुखलाई समेत विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
सम्मेलनमा विश्व व्यापार, इजरायल–इरान युद्ध, युक्रेन संकट, जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) को नियमन, आप्रवासन र अन्तर्राष्ट्रिय सुरक्षाजस्ता मुख्य विषयमा गहन छलफल भइरहेको छ। चीनको व्यापारिक नीतिबाट उत्पन्न चुनौती, आपूर्ति शृंखला सुदृढीकरण, तथा जलवायु प्रतिरोधात्मक उपायबारे सहकार्यमा विशेष जोड दिइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान युद्धको चर्को परिस्थितिका कारण सम्मेलन निर्धारित समयभन्दा छिटो छाड्ने घोषणा गरेका छन्। उनले सोमबार साँझ राष्ट्रप्रमुखहरूसँगको डिनरपछि वाशिंगटन फर्किने जनाएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत् “इरानले सम्झौता नगरेकोमा दुःख” व्यक्त गर्दै “तेहरान तत्काल खाली गर्न” चेतावनीसमेत दिएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सम्मेलनलाई सफल बनाउनका लागि बहुपक्षीय संवाद र सहकार्यमा जोड दिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम लगायतका अतिथिहरूको उपस्थिति विशेष चर्चा बटुलिरहेको छ।
विश्वका प्रमुख राष्ट्रहरूबीच सहकार्य, संकट व्यवस्थापन र साझा समाधानका लागि क्यानडामा जारी जी–७ शिखर सम्मेलन महत्वपूर्ण मञ्च बनेको छ। इजरायल–इरान युद्ध, युक्रेन संकट, जलवायु परिवर्तन जस्ता जटिल विषयमा बहस चलिरहँदा सम्मेलनको परिणामप्रति विश्वभर चासो बढेको छ।