काठमाडौं, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै स्थापना दिवस मनाएको हो।
पार्टीले माइतीघर मण्डलामा आयोजित कार्यक्रममा सभापति लामिछानेलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाइएको भन्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। रास्वपाले उक्त अभियानका लागि चन्दा संकलनसमेत सुरु गरेको जनाएको छ। उपसभापति स्वर्णिम वाग्लेले सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौं हस्ताक्षर संकलन गरिने जानकारी दिए। उनले रास्वपाको गति रोक्नका लागि सरकारले पार्टी सभापतिलाई कानुनी झमेलामा पारेको आरोपसमेत लगाए।
यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेकाले सडकमा हस्ताक्षर संकलन गरेर स्थापना दिवस मनाएको हो। वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते स्थापना भएको रास्वपा हाल संसदको तेस्रो ठूलो शक्ति बनेको छ।
पार्टीले भ्रष्टाचारविरुद्धको अभियान जारी राख्ने प्रतिबद्धता जनाएको छ।