काठमाडौं — एएफसी महिला एसियन कप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित दर्ता गरेको छ। उज्बेकिस्तानको ताशकन्दस्थित मिलीय स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ८–० गोलअन्तरले पराजित गर्यो।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन्। गीता रानाले ७औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाइन् भने, दोस्रो हाफमा पेनाल्टीमार्फत दोस्रो गोल गरिन्। निशा थोकर, रेखा पौडेल र पूजा रानाले पनि एक–एक गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए।
पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्दै जित सुनिश्चित गर्यो। यसअघि नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। समूह ‘एफ’ अन्तर्गत नेपालले लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेको छ।
अब नेपालले निर्णायक खेलमा आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको नतिजाले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनोट हुने टोली निर्धारण गर्नेछ।