गैँडाकोट – नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै उनलाई रास्वपाको केन्द्रीय सार्वजनिक लेखा समिक्षा विभाग प्रमुखमा मनोनित गरिएको छ।
रास्वपाको केन्द्रीय समिति बैठकले सापकोटालाई उक्त जिम्मेवारीमा सर्वसम्मत रूपमा चयन गरेको हो। पार्टीले सापकोटाको अनुभव, संगठनात्मक क्षमता र आर्थिक पारदर्शिताप्रति प्रतिबद्धतालाई ध्यानमा राख्दै सो निर्णय गरेको बताइएको छ।
गोकुल सापकोटा नेपाली कांग्रेस गैँडाकोट नगर समितिका सभापति बद्री सापकोटाका भाई हुन्। एउटै परिवारभित्र दुई राजनीतिक धारका प्रतिनिधित्व देखिनु गैँडाकोटको राजनीतिमा चर्चा योग्य विषय बनेको छ।
सापकोटा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनी कांग्रेसको महासमिति सदस्यका रूपमा कार्यरत थिए। पछिल्ला वर्षहरूमा उनी गैँडाकोट नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेको खुलेको थियो।
रास्वपा प्रवेशसँगै सापकोटाले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा गैँडाकोटको मेयर पदमा उम्मेदवारी दिने सम्भावना बढेको छ। स्रोतहरूका अनुसार रास्वपाले सापकोटालाई मेयरको सम्भावित उम्मेदवारका रूपमा अघि बढाउने तयारी गरिरहेको छ।
यस घटनाले गैँडाकोटको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। नेपाली कांग्रेसभित्र भने सापकोटाको प्रस्थानलाई गम्भीर रूपमा लिइएको देखिएको छ।नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका सापकोटाले लोकतन्त्रको रक्षा, मानव अधिकारको स्थायित्व र सामाजिक रूपान्तरणका विभिन्न आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको महासमिति सदस्यसम्मको यात्रा गरेका थिए।
पार्टी परित्यागको घोषणासँगै सापकोटाले वक्तव्य जारी गर्दै भनेका छन्, “विगतमा काँधमा काँध मिलाएर हिँड्नु हुने सबै अग्रज, मित्र, शुभेच्छुक र संगठनका सम्पूर्ण योद्धाहरूप्रति म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब म नेपाली कांग्रेसको कुनै पनि पदमा, साधारण सदस्यसमेत नरहने निर्णयमा पुगेको छु।”
उनले भनेका छन्, “समस्याले गाँजिएको देशलाई समाधानको बाटोमा लैजान, निराशाको राजनीतिभन्दा आशाको राजनीति स्थापित गर्न म रास्वपाको नीति, दृष्टिकोण र संस्कारसँग जोडिएको छु।”

