स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले मात्र निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक योगदानको आवश्यकता रहेको बताएका हुन्।
मन्त्री पौडेलका अनुसार, यी क्षेत्रमा सरकारी लगानी निकै सीमित छ र हालको अवस्थामा अझ धेरै गर्न सक्ने अवस्था छैन। उनले योगदान दिन सक्षम र इच्छुक नागरिकलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिए।
उनले शहरी क्षेत्रमा प्रायः नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सक्ने अवस्था भए पनि ग्रामिण क्षेत्रमा भने स्थानीय विद्यालयबाहेक अन्य विकल्प नभएको बताए। ग्रामिण आवश्यकताका दृष्टिले, मन्त्री पौडेलले ती क्षेत्रमा निजी लगानीमा शैक्षिक र स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे।

