सर्लाहीमा एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको घटना घटेको छ। मृतक शिक्षक रामपुकार यादवलाई राति साढे आठ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीहरूले गोली हानेर भागेका थिए।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
घटनापछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक संदिग्ध व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

